Logo
Logo

रुस-युक्रेन तनाव : युक्रेनमा रहेका नेपालीलाई सम्पर्कमा आउन परराष्ट्रको आग्रह



काठमाडौं । रूस र युक्रेनबीच तनाव बढ्दै गएपछि त्यहाँ रहेका नेपाली नागरिकलाई स्वदेश फर्कँन परराष्ट्र मन्त्रालयले आग्रह गरेको छ । साथै, अहिलेसम्म त्यहाँ रहेका नेपाली नेपाली सुरक्षित रहेको पनि मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्रालयका अनुसार युक्रेनमा करिब १५० जना नेपाली रहको छन् ।

युक्रेनमा ३५ जना व्यवसायीक रूपमा बस्दै आएको र बाँकी विद्यार्थी रहेको मन्त्रालयको भनाइ छ । अहिलेसम्म युक्रेनमा रहेका ३८ नेपाली नागरिक सम्पर्कमा आएको र उनीहरू सुरक्षित रहेको परराष्ट्रले बताएको छ ।

परराष्ट्र मन्त्रालयले युक्रेनमा रहेका नेपालीलाई उपलब्ध हवाई उडानको प्रयोग गरी स्वदेश फर्कनसमेत एक विज्ञप्ति जारी गर्दै अनुरोध गरेको हो ।

परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा भनिएको छ । ‘त्यहाँको वर्तमान अवस्था तथा विकसित हुँदै गरेका घटनाक्रमको मूल्याङ्कन गर्नुभई अति आवश्यक परी त्यहीँ रहनु परेमा बाहेक उपलव्ध व्यवसायिक हवाइ उडानको उपयोग गरी स्वदेश फर्कन परराष्ट्र मन्त्रालय अनुरोध गर्दछ । साथै, अति आवश्यक अवस्थामा बाहेक हाललाई युक्रेन भ्रमण स्थगित गर्न समेत अनुरोध गरिन्छ ।’

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले छिमेकी मुलुक युक्रेनमा सैन्य कारबाहीको घोषणा गरिसकेका छन् । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार राष्ट्रपति पुटिनले बिहीबार पूर्वी युक्रेनमा सैन्य कारबाहीको घोषणा गरेका हुन् । पुटिनले सैन्य कारबाहीसँगै युक्रेनका सैनिकलाई आत्मसमर्पण गर्न आग्रह गरेका छन् ।

परराष्ट्र मन्त्रालयले युक्रेनमा रहेका नेपालीलाई नेपाली राजदूतावास, बर्लिनकी तृतीय सचिव सहारा चौँलागाइँलाई +४९१७०९८०८०६३ वा Email  [email protected] मा सम्पर्क गर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्