Logo
Logo

युक्रेनमा रहेका नेपालीहरुलाई घरभित्र बस्न अनुरोध



काठमाडौं । रुसले युक्रेनमाथि आक्रमण सुरु गरपछि त्यहाँ रहेका नेपाली समस्यामा परेका छन् । रुसले युक्रेनमाथि बिहीबार दोस्रो दिन पनि आक्रमण जारी राखेको छ । यससँगै युक्रेनको हवाई क्षेत्र बन्द भएपछि त्यहाँ रहेका नेपाली थप समस्यामा परेका छन् ।

हवाईमार्गबाट तत्काल युक्रेन छोड्न सम्भव नभएपछि जर्मनीमा रहेको नेपाली दूतावासले युक्रेन र रुसबीच विकसित पछिल्लो परिस्थितिलाई ध्यानमा राखेर संयमता अपनाइ अहिले बसोबास गरिरहेको ठाउँमै घरभित्रै सुरक्षित बस्न अनुरोध गरेको छ ।

युक्रेन सरकार र सम्बन्धित कलेज÷विश्वविद्यालय तथा कम्पनीले जारी गरेको निर्देशनको पूर्ण पालना गर्न, सम्भव भएमा सडक तथा रेलमार्गबाट युक्रेनकै पश्चिमतर्फका सुरक्षित ठाउँमा जान, राहदानी, परिचयपत्र, बैंकको कार्डलगायत कागजात आफ्नो साथमा राख्न र साथीभाइ तथा परिवार र नियोगसँग निरन्तर सम्पर्कमा रहन पनि आग्रह गरेको छ ।

युक्रेनको पछिल्लो घटनाक्रमबारे नियमित जानकारी राख्न र आवश्यक परेमा नेपाली दूतावासमा सम्पर्क गर्न पनि भनिएको छ ।
युक्रेनमा दुई सयभन्दा बढी नेपाली नागरिक रहेको विवरण सार्वजनिक भएको छ । तीमध्ये ७ जना पूर्वी युक्रेनमा छन् । अहिलेसम्म १ सय ५० नेपाली सम्पर्कमा आएको र तत्काल उद्धार गर्नसक्ने अवस्था नरहेको युक्रेनका लागि नेपाली राजदूत रामकाजी खड्काले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्