संखुवासभा । प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले जेलभित्र सिकेका अनुशासनका कुरा बाहिर उपयोग गरेमा सभ्य समाजको निर्माण हुने बताएका छन् ।

सोमबार मन्त्रालयले संखुवासभा जिल्ला कारागारमा आयोजित ‘मानव अधिकार प्रवर्द्धन तथा कानुनी सचेतना कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले सो कुरा बताएका हुन् ।
समाजमा अरू मानिसले अपराध नगरोस्, अपराध नबढोस् भन्न प्रतिनिधि पात्रका रूपमा कैदीहरू कारागारमा आएको भन्दै उनले यहाँको बसाइलाई होस्टेल बसाइको रूपमा लिन आग्रह गरे ।
जेलबाट बाहिर निस्किएपछि समाजले हेर्ने दृष्टिकोण परिवर्तन हुनुपर्नेमा उनले जोड दिए । उनले भने, ‘म जेलमा गए पनि म यही समाजको एक सदस्य हुँ, मैले जेलमा सिकेका कुरा समाजमा सिकाएर सभ्य समाज निर्माणमा सहयोग पुराउँछु भनेर लाग्नुपर्छ ।’
उनले कारागारभित्र कैदीबन्दीले पालना गर्ने अनुशासनको प्रशंसा गरे ।











