Logo
Logo

अझै कटुवालकै भर !


- दृष्टि न्युज/संवाददाता


आफ्नो वडा कार्यालयमा आव २०७६र०७७ को कार्य योजनाबारे गाउँवासीलाई सहभागी गराई छलफल गर्नका लागि खबर गर्दै लमजुङको घाम्राङका कटुवाल चन्द्रबहादुर गुरुङ । तस्बिर : रासस

लमजुङ, ३० जेठ । लमजुङको क्व्होलासोथर गाउँपालिका–८ घाम्राङ गाउँका चन्द्रबहादुर गुरुङले गाउँपारिको डाँडामा उभिएर ठूलो स्वरमा उर्दी गर्न थालेपछि गाउँवासी कान टाठो गर्दै गुरुङलाई सुन्न थाल्छन् ।
डाँडाबाट उनका गाउँमा हुन लागेको वा हुनेवालाको नयाँ सूचना वा खबर सुनाउनुहुन्छ । उनी गाउँलेलाई सूचना दिने मान्छे अर्थात् कटुवाल हुन् ।
प्रविधिको माध्यमबाट सूचना दिने क्रम बढे पनि यहाँका गाउँका बासिन्दालाई सामूहिक रुपमा सूचना (खबर) गर्न अहिले पनि घाम्राङ गाउँमा कटुवालको प्रथा कायमै रहेको छ । गाउँमा भइरहने विभिन्न भेला, कार्यक्रम तथा बैठक, विवाहलगायतका शुभकार्यमा स्थानीयवासीलाई सहभागी गराउन कटुवालले नै खबर गर्छन् ।
गाउँको रीतिस्थितिअनुसार असिना बार्ने, बीउ बार्नेदेखि विकास निर्माणका काममा सामूहिक काम गराउन, खानेपानीको मर्मतसम्हार, सामुदायिक वनको गोडमेल, दाउरा काट्ने, दुःख–बिमारमा सघाउ गर्ने, गाईभैँसी लेकमा लैजाने र वेँशीमा राख्ने लगायतका काममा पनि कटुवालले नै गाउँलेलाई खबर गर्दै आएको वडाध्यक्ष राजु गुरुङले बताए । उनले भने, ‘गाउँभरिको खबर गर्ने आधिकारिक व्यक्ति नै गाउँको कटुवाल हो ।’ वडा कार्यालयबाट गर्ने कार्यक्रमदेखि गाउँमा हुने सबैजसो कामको खबर गर्ने जिम्मा कटुवालको हुने गुरुङले बताए ।
वर्षौं पहिलेदेखि कटुवालको चलन चल्दै आएको र आफूले गत मङ्सिर महीनाबाट सो जिम्मेवारी सम्हालेको कटुवाल गुरुङले बताए । घाम्राङगाउँ मात्रै नभई आसपासका घाम्राङवेशी, घिचे, साल्मेलगायतका गाउँमा समेत गुरुङले नै खबर पु¥याउने गर्छन् । ‘गाउँमा जे जस्तो खबर गर्नुपरे पनि मै दौडिने हो’, गुरुङले भने, ‘गाउँमा पुगेर कतै चौतारोमा, कतै अलि अग्लो थुम्कोमा बसेर उर्दी गरेपछि सबैले थाहा पाइहाल्छन ।’
गाउँलेलाई खबर गर्ने र त्यसैबाट आम्दानी गर्न पाउँदा आफू सन्तुष्ट नै भएको उनले बताए । गाउँमा हुने कुनै पनि कार्यको खबर कटुवालबाटै आफूहरुले थाहा पाउने स्थानीयवासी गमबहादुर गुरुङले बताए । कटुवालले एकै पटकमा सबैलाई खबर पु¥याउने हुँदा कसैले थाहा पाउने वा कसैले नपाउने भन्ने समस्या नरहने उनको भनाइ छ ।
कटुवाल कराएबापत उहाँले गाउँलेबाट सामूहिक रुपमा वार्षिक पाँच मुरी धान, एक मुरी कोदो पाउँछन् । बर्सेनी गाउँमा थितिसभा बस्ने र सोही सभाले निर्णय गरेपछि मात्रै अन्नपात उठाइने चलन रहेको छ । काम परेको बेला कटुवाल कराउने र अन्य समयमा खेतीपाती गर्दै परिवार धान्दै आएका छन् । कटुवालको जिम्मेवारीमा आउने अन्न, आफूले उब्जाउने अन्न र मेलापात गरेर आउने नगद आम्दानीले आफ्नो जीवन निर्वाह भइरहेको छ ।
गाउँ–गाउँ चहार्दै चर्को स्वरमा कराउनुपर्ने भएकाले काम अलि अप्ठारो नै भएको उनले बताए । प्रविधिको विकास भएसँगै गाउँले वा वडा कार्यालयबाट हाते माइकको व्यवस्था गरेर माइकमार्फत नै खबर सुनाउन सकिनेतर्फ कसैको ध्यान गएको छैन । अहिलेसम्म दुईहात जोडेर चर्को आवाजमा कराउँदै आएको तर आफूले पनि कसैसँग माइक माग नगरेको उनले बताए ।
क्व्होलासोथर मात्रै नभई जिल्लाका अधिकांश गाउँमा अहिले पनि सामुदायिक सूचना प्रवाहका लागि परम्परागत ढंगमै कटुवालको चलन रहेको जिल्ला समन्वय समिति लमजुङका प्रमुख लोकराज पाण्डेले बताए । प्रभावकारी सूचना सम्प्रेषणका लागि उनीहरुलाई प्रविधिमैत्री बनाउनुपर्ने उनको तर्क छ । रासस

प्रतिक्रिया दिनुहोस्