Logo
Logo
युक्रेन-रुस युद्ध

युक्रेनबाट ५ सय ११ नेपाली पुगे सीमावर्ती देश, स्वदेश ल्याउने मन्त्रालयको तयारी



काठमाडौं । युक्रेनबाट पाँच सय ११ जना नेपाली सीमावर्ती छिमेकी देशमा पुगेका छन् । परराष्ट्र मन्त्रालयले जनाए अनुसार अहिलेसम्म युक्रेनबाट पोल्यान्डमा चार सय तीन, स्लोभाकियामा ७१, रोमानियामा २७, हङ्गेरीमा ६ तथा मोल्दोभामा ४ जना नेपाली पुगेका हुन् ।

उनीहरुलाई भारतीय उडानबाट स्वदेश ल्याउने तयारी भइरहेको मन्त्रालयको भनाई छ । मन्त्रालयका अनुसार युक्रेनबाट निस्केका नेपाली नागरिकलाई भारत सरकारबाट सञ्चालित उडानमार्फत ल्याउनका लागि भारत सरकारलाई अनुरोध गरिएको छ ।

उद्धारका लागि भारतबाट सकारात्मक जवाफ प्राप्त भएको र युक्रेनको सुरक्षा अवस्थालाई ध्यानमा राखेर त्यहाँ रहेका नेपालीलाई सुरक्षित ठाउँमा पुर्याउन र देश फर्काउन पनि सहजीकरण भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उद्धार कार्यमा बर्लिनमा रहेको नेपाली राजदूतावास र मस्कोमा रहेको नेपाली राजदूतावासलाई परिचालन गरिएको छ । युक्रेनको विभिन्न ठाउँमा रहेका बाँकी केही नेपाली पनि तुलनात्मक रुपमा सुरक्षित रहेको र पश्चिम क्षेत्रतर्फ जाँदै गरेको परराष्ट्र मन्त्रालयले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

उद्धार र राहत कार्यमा समन्वय गर्न नेपाली राजदूतको अध्यक्षतामा गैरआवासीय नेपाली सङ्घका उपाध्यक्ष सम्मिलित एक कार्यसमिति गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्