
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गायक प्रकाश सपुतको गीत ‘पीर’को म्युजिक भिडियोमा भइरहेको विवादबारे प्रतिक्रिया दिएका छन् ।
प्रचण्डले सोमबार (आज) धनगढी विमानस्थलमा पत्रकारहरुसँग शान्ति प्रक्रियामा ल्याएर माओवादीले बर्बाद गर्यो भन्ने पनि नरहेको उल्लेख गर्दै जनयुद्धप्रति हल्का टिप्पणी गर्न पनि नमिल्ने बताएका छन् ।
‘मैले पूरै गीत हेर्न पाएको छैन, मिडियाबाट थाहा पाएको हुँ । अहिले हामी कोही उत्तेजित हुनुपर्ने पनि छैन’, प्रचण्डले भने ।
माओवादीका जनवर्गीय संगठनसँग केही नेताहरुले सपुतको उक्त गीतको म्युजिक भिडियो युट्युवबाट हटाउनुपर्ने माग राखेकै बेला प्रचण्डले यस्तो बताएका हुन् ।
यो विषयमा सयौं वर्षसम्म पनि बहस रहने उल्लेख गर्दै प्रचण्डले तर्क, वितर्क, पक्ष विपक्षलाई स्वभाविक रूपले लिनुपर्ने बताए । प्रचण्डले जनयुद्धबाट शान्ति प्रक्रियामा आउनु ठिक थियो कि थिएन भन्नेमा पनि बहस भइरहने बताएका छन् ।
यो पनि पढ्नुहोस्











