Logo
Logo

अर्ली इलेक्सनबारे भ्रम फैलाइएको छ : प्रचण्ड


2k
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्ली इलेक्सनको सम्भावना नरहेको बताएका छन् ।

फाईल फोटो

सत्तारुढ गठबन्धनभित्र स्थानीय तहको चुनावअघि अर्ली इलेक्सनबारे छलफल भइरहेका विवरण सार्वजनिक भइरहेका बेला पूर्वप्रधानमन्त्री प्रचण्डले अब नियमित निर्वाचन मात्र हुने बताएका हुन् ।

‘एमालेले दुई पटक संसद विघटन गर्‍यो । अहिले संसद चल्न दिएको छैन । अर्ली इलेक्सनबारे भ्रम फैलाइएको छ । त्यो सत्य होइन’, धनगढी विमानस्थलमा आज बिहान (सोमबार) आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले भने ।

३० वैशाखमा स्थानीय तहको निर्वाचन घोषणा भइसकेको र अब सोही अनुसार प्रक्रिया अगाडि बढ्ने प्रचण्डको भनाई छ ।

त्यस्तै अध्यक्ष प्रचण्डले कांग्रेसलाई सुदूरपश्चिम सरकारमा भित्र्याउनेबारे छलफल भइरहेको पनि बताए । ‘चुनाव आएको छ, कांग्रेसले पनि सरकारमा जान चाहेको छ’, प्रचण्डले भने, ‘एकीकृत समाजवादीका केही मन्त्रीलाइ फिर्ता बोलाएर कांग्रेस भित्र्याउने सहमति भएको छ ।’ यसबारे समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पनि छलफल भएको उनले बताए ।

हाल सुदूरपश्चिम सरकारलाई कांग्रेसको समर्थन रहे पनि सरकारमा छैन । ११ सदस्यीय मन्त्रिपरिषद्‍मा सात समाजवादी र चार माओवादीका मन्त्री छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस्