Logo
Logo

श्रममन्त्री श्रेष्ठ युएईमा, नेपाल–युएई संयुक्त समितिको बैठक बस्दै



काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र युएईका मानव संशाधन मन्त्री डा. अव्दुल रहमान अव्दुलमानन अल अवारबीच आज भेटवार्ता हुने भएको छ ।

संयुक्त अरब इमिरेट्स (युएई) को भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री श्रेष्ठ र युएईका मानव संशाधन मन्त्री अल अवारबीचको भेटवार्तामा नेपाली श्रमिकको सुरक्षा र हितका विभिन्न आयामबारे छलफल हुनेछ । मन्त्री श्रेष्ठले भिजिट भिसा र त्यसबाट उत्पन्न समस्या समाधानको उपाय खोजी गर्न समकक्षीसँग छलफल गर्ने कार्यक्रम तय भएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ । नेपाल र संयुक्त अरब इमिरेट्सको आज बस्ने संयुक्त समितिको बैठकको उद्घाटन सत्रलाई मन्त्री श्रेष्ठ र समकक्षी अल अवारले सम्बोधन गर्दैछन् ।

सोही बैठकमा भाग लिन मन्त्री श्रेष्ठ यूएईको राजधानी आबुधावी गएका हुन् । उद्घाटन सत्र समापनपछि प्राविधिक समूहको बैठक बस्ने जनाइएको छ । उक्त बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व मन्त्रालयका सहसचिव राजीव पोखरेलले गर्ने मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ । त्यसक्रममा नेपाल र संयुक्त अरब इमिरेट्सबीच सन् २०१९ मा भएको श्रम–सम्झौता कार्यान्वयनका सन्दर्भमा समीक्षा गरिने जनाइएको छ ।

सो बैठकमा वैदेशिक रोजगारीका लागि युएई जाने नेपाली श्रमिकको सुरक्षा, पारिश्रमिक वृद्धि र पर्यटन भिसामा पुगेर अलपत्रमा परेका नेपालीहरुको समस्या समाधान गर्नेबारे द्धिपक्षीय छलफल हुने बताइएको छ । मन्त्री श्रेष्ठले भोलि राजधानी आबुधावीस्थित नेपाली दूतावासमा नेपाली श्रमिकले झेल्नुपरेका समस्या र समाधानका सन्दर्भमा नेपाली समुदायसँग छलफल गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्