Logo
Logo

छात्रावास बनाउन जुट्यो २७ लाख बढी रकम


756
Shares

बेनी । म्याग्दीको मंगला गाउँपालिका–३ बरङ्जास्थित महेन्द्ररत्न माविको छात्रावास भवन निर्माणका लागि जग्गा खरिद गर्न स्थानीयवासीले रु. २७ लाख बढी रकम संकलन गरेका छन् ।

विसं २०७६ मा जग्गा खरिद प्रयोजनका लागि अर्थ संकलन समिति गठन गरी देश–विदेशमा सञ्चालन गरिएको अभियानबाट रु. २७ लाख ३५ हजार ४५४ संकलन भएको हो । उक्त रकमबाट स्थानीय गंगाबहादुर बुढाथोकीको करिब चार रोपनी जग्गा रु. २५ लाखमा खरिद गरिएको विद्यालयका प्रधानाध्यापक कृष्णलाल सापकोटाले जानकारी दिए । उक्त जग्गामा जिल्ला आयोजना कार्यान्वयन एकाइ शिक्षा म्याग्दीको रु. ७० लाख लागतमा दुईतले चारकोठे छात्रावास भवन निर्माण गत वर्ष नै सम्पन्न भइसकेको छ ।

प्रदेश सरकारको रु. ५० लाख सहयोगमा एक सय जनाको क्षमता रहने नयाँ भवन निर्माण पनि सुरु गरिएको छ । सोमवार विद्यालयमा कार्यक्रम आयोजना गरी चन्दादातालाई सम्मान गरिएको छ । अर्थ संकलन अभियानमा जोडिएका देश–विदेशमा रहेका बरङ्जावासी, विद्यालयका पूर्व तथा वर्तमान शिक्षक, विद्यार्थी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक संघका पदाधिकारीलगायतलाई सम्मान गरिएको हो । उक्त अभियानमा विद्यालयको मुक्तिनाथ र प्रभु बैंकको खातामा रहेको बचत रकम रु. पाँच लाख ८० हजार ५०० समेत परिचालन गरिएको थियो ।

संकलित रकमबाट जग्गा खरिदसहित विभिन्न प्रयोजनमा करिब रु. २७ लाख खर्च भएको अभियानका आर्थिक संयोजक विलभ थापाले जानकारी दिए । कार्यक्रममा शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख दलबहादुर थापाले शिक्षामा सरकारले निकै ठूलो रकम लगानी गरेको तर, लगानीअनुसारको प्रतिफल प्राप्त हुन नसकेको बताए । जिल्लामा पनि केन्द्र र प्रदेश सरकारबाट गरी रु. एक करोडभन्दा बढी रकम शिक्षा क्षेत्रमा विनियोजन हुने गरेको जनाइएको छ ।

कार्यक्रममा मंगला–३ बरङ्जाका वडाध्यक्ष कविन्द्र रोकाले महेन्द्ररत्न माविले शिक्षामा अग्रणी स्थान हासिल गरेको बताए । बरङ्जाकै धापुङ, महेश, दुर्दी, झाँक्रीपानीलगायतका स्थानबाट करिब डेढ घण्टा लगाएर विद्यालय आउने विद्यार्थीलाई छात्रावास बनेपछि सहज हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्