
काठमाडौं । राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले अब अस्पतालमा जन्मिएका बच्चाको विवरण सिधै विभागमा लिने भएको छ ।
अस्पतालमा जन्मिएका बच्चाको विवरण फारम अस्पतालमै भरेर विभागमा लिने प्रक्रिया सुरु गर्न लागिएको विभागकी निर्देशक विनिता भट्टराईले जानकारी दिइन् । मङ्गलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले भनिन, ‘यो व्यवस्था चाँडै कार्यान्वयनमा आउँछ, त्यसका लागि आवश्यक प्रक्रिया अघि बढिसकेको छ ।’ यो प्रक्रिया लागू भएपछि कुन अस्पतालमा, कहिले र कति बच्चा जन्मिए भन्ने आधिकारीक तथ्यांक संकलन हुने र जन्मिएका बच्चाको मिति यथार्थ हुने समेत विभागले विश्वास लिएको छ ।
विभागकी निर्देशक भट्टराईले जन्मदर्ता सम्बन्धी समस्या धेरै आउने गरेकाले यसको स्थायी समाधानका लागि अस्पतालबाटै फारम भरेर विवरण विभागमा ल्याउने तयारी सुरु गर्न लागिएको बताइन् । घरमै जन्मिएका बच्चाको भने अभिभावक स्वयंले नै जन्मदर्ता नगराएसम्म राज्यलाई थाहा नहुने भन्दै उनले जन्मदर्ताको व्यवस्था बमोजिम बच्चा जन्मिएको ३५ दिनभित्रै जन्मदर्ता गराउन आग्रह गरिन् ।
जन्मदर्ता गर्न ३५ दिन भन्दा ढिलो गरेमा विलम्ब शुल्क तिर्नुपर्ने कानुनी व्यवस्था छ । जन्म, मृत्यु, बसाइँसराइँलगायतका व्यक्तिगत घटना दर्ता गर्दा अनलाइनमार्फत फारम भरेर वडा कार्यालयमा जान आग्रह गर्दै विभागकी निर्देशक भट्टराईले आमा–बाबु दुबैको पहिचान नभएको, विवाह दर्ता नभएकै कारण बच्चाको जन्मदर्ता नरोकिने समेत स्पष्ट पारिन् ।











