
चितवन । नेपाली कांग्रेस चितवन जिल्ला शाखाले आजदेखि जिल्लाका सबै निर्वाचन क्षेत्रमा ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सञ्चालन गर्दैछ । जिल्लामा रहेका तीनवटै संघीय निर्वाचन क्षेत्रमा आज औपचारिक कार्यक्रम गरी अभियान सुरु गर्न लागिएको हो ।
स्थानीय तहको निर्वाचन नजिकिएसँगै अभियान सुरु गरिएको सचिव ध्रुवराज पोखरेलले जानकारी दिए । उनले भने, “निर्वाचनसँगै समाजमा एमसीसीबारेको भ्रम चिर्नका लागि अभियान सुरु गरिएको हो ।” चितवन क्षेत्र नम्बर १ मा क्षेत्रीय पार्टी कार्यालय पर्सा–२ मा कांग्रेस जिल्ला पार्टी कार्यालय र क्षेत्र नं ३ को गीतानगरस्थित होटल रोयल ब्याङ्क्वेटबाट अभियान शुभारम्भ गरिँदै छ ।उनका अनुसार क्षेत्र नम्बर १ मा सचिव सूर्य अर्याल र सहसचिव दिनेश अधिकारी, क्षेत्र नम्बर २ मा उपसभापति शालिग्राम शर्मा र सचिव ध्रुवराज पोखरेल र क्षेत्र नम्बर ३ मा उपसभापति राजीव न्यौपाने र सहसचिव गोपाल दराईलाई जिल्ला प्रतिनिधिको रुपमा खटाइएको छ ।
क्षेत्रको कार्यक्रमका लागि केन्द्रबाट खटिएका केन्द्रीय प्रतिनिधि अब्दुल सतार उपस्थित भई अभियानका बारेमा जानकारी गराउनेछन् । अभियानमा प्रत्येक निर्वाचन क्षेत्रमा जिल्ला कार्यसमितिका दुई प्रतिनिधिसहित कांग्रेस नेता तथा कार्यकर्ता परिचालन गरिएको पोखरेलले जानकारी दिए । उनका अनुसार हरेक टोल, वडा तहमा ती नेता एवं कार्यकर्ता पुगेर सर्वसाधारणलाई एमसीसीका विषयमा भएको भ्रम चिर्ने र कांग्रेसका उम्मेदवारलाई मतदान गर्न प्रेरित गर्ने छन् । फागुन २९ गतेदेखि सुरु भएको अभियान चैत २९ गते समापन हुनेछ ।
अभियानका क्रममा क्षेत्र, प्रदेश र वडास्तरमा जागरणका कार्यक्रम सञ्चालन गरिने र टोलटोलमा नेपाली कांग्रेसको टोल कार्यसमिति गठन गरी पार्टी संगठनलाई जनस्तरसम्म पुर्याइनेछ । चितवनमा पार्टीको १४ औँ महाधिवेशनका क्रममा २८ हजार क्रियाशील सदस्य पुगेका र अभियानका क्रममा तिनलाई समेत परिचालन गरिने जनाइएको छ ।











