Logo

दल-बदल ‘गल्ला’ र गल्लामा चढेका ‘माल’हरू



स्थानीय तह निर्वाचनको घोषणासँगै दल–बदल्नेहरूको मौसम पनि सुरू भएको छ । यो मौसम कुनै सिद्धान्त, मूल्य र मान्यताका आधारमा होइन, मात्र अहिले सदस्य रहेको दलबाट खाइपाइ आएको पदमा उम्मेदवारीको सम्भावना लगभग सकिएपछि सुरू भएको हो ।

यो एक किसिमको राजनीतिक गल्ला हो, जहाँ गल्लामा चढ्नेहरू पनि छन् र गल्लामा बोल–कबोल लगाउनेहरू पनि छन् । अर्थात् यो एक किसिमको किनबेचको फौबञ्जार हो । जहाँ दल बदल्नेहरूले आफूलाई बिक्रिमा राखेका छन् । र, गल्लावालहरू तछाँडमछाड गर्दै दलबदलुहरूलाई खरिद गरिरहेका छन् ।

यो खरिदारीमा सबैभन्दा अगाडि छन्, एमाले अध्यक्ष केपी शर्मा ओली । यसका लागि उनी पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म, दक्षिण रंगेलीदेखि उत्तर किमाथांकासम्म जहाँ–जहाँ गल्ला चलेका छन्, त्यहाँ–त्यहाँ पुगेर गल्लामा चढेकाहरूलाई उठाइरहेका छन् ।

कहीँ हेलिकोप्टरमा उडेर, कहीँ पजेरोमा गुडेर जे जसरी हुन्छ, भ्याइनभ्याइ गल्ला उठाइरहेका छन् । यो गल्लामा उनका अनुचरहरू सेटिङमा बोली लगाइरहेका छन्, जब बोली एमालेको पक्षमा लाग्छ, त्यसपछि ओलीलाई त्यहाँ त्यहाँ पुर्याएर एक किसिमको ‘स्यूडो–इभेन्ट’ आयोजना गरिन्छ र गल्लामा चढेका मालहरू उठाइन्छ । अहिलेको अवस्था यस्तो छ कि एउटा माल उठाउँदा केही स–साना पुत्लाहरू पनि फोस्सामा मिलिरहेका छन् ।

यसरी बिकाउ माल उठाउनेमा ओली एक्ला गल्लावाल हैनन्, अरू पनि गल्लावालहरूको चहलपहल बढेको छ । देशका ठूला र पुराना राजनीतिक पार्टी चलाइरहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’, शेरबहादुर देउवा, उपेन्द्र यादव, राजेन्द्र लिङदेनहरु । आ–आफ्नो हैसियतअनुसार गल्ला उठाइरहेकै छन् ।

नयाँ पार्टी गठन गरेकाले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राप्रपा नेपालका कमल थापा पनि यो मेसोमा जोडिनुपरेको छ, नयाँ पार्टी गठन गरेकाले उनीहरूका लागि यो एक किसिमको बाध्यता बनेको छ ।

केही समययता टेलिभजनका पर्दामा माला, खादा लगाएर स्वागत गरिएका दृश्यहरू बाक्लिएका छन्, सामाजिक सञ्जालका भित्ताहरू स्वागत र बिदाइका लागि खर्चिएका जिन्दावाद, मुर्दावाद शव्दहरूले भरिभराउ छन् ।

गल्लामा चढेकाहरू पहिला निष्काशनमा परेको समाचार सार्वजनिक गर्ने कि उनीहरूले दल त्याग गरेको समाचार पहिला निकाल्ने भनेर पार्टी पत्रकारहरू तछाँडमछाडमा छन् । आम पाठकको रूचिको विषय नरहेकाले देशको मूलधारे पत्रकारिताका लागि भने अब यी समाचारका सुर्खीहरू बन्न छोडेका छन् ।

अहिले जो गल्लामा चढेका छन्, उनीहरू मूलतः स्थानीय चुनाव जितेर कुनै न कुनै पदमा बहालवाला छन् । र, बहाल हुँदा दलको अनुशासनमा नबसेर लुट मच्चाएका र त्यही कारण दोहोर्याएर उम्मेदवारी नपाउने लगभग पक्का भएका छन् ।

यसरी गल्लामा चढेकाहरूसँग जाति, धर्म, भूगोल यस्तै केहीसँग जोडिएको केही भोट बैंक पनि छ र मत प्रभावित पार्न सक्ने पैसा पनि छ । मुलतः गल्लामा चढेका यस्तै मानिसको मोल बढी लागेको छ ।

रूपमा जे–जे नाम दिइए पनि सारमा यो गल्ला सबै चुनावी प्रयोजनका लागि हो । यसको योभन्दा अरू कुनै उद्देश्य छैन । गल्लामा चढेकालाई आफू चुनाव जित्नु छ, गल्ला उठाउनेहरूलाई आफ्नो दललाई चुनाव जिताउनु छ । अर्थात् दुवै पक्षको अर्जुनदृष्टि चुनावमा अडिएको छ । यही स्वार्थका लागि अहिले राजनीतिक गल्लाको मौसम चलेको हो ।

आखिर चुनावमा उम्मेदवारी के का लागि ? किन यति धेरै मरिहत्ते भइरहेको छ यसमा ? यो सबै चुनावमा जित्नका लागि भइरहेको छ, र जित्ने के का लागि त्यो लगभग सबैलाई थाहा भइसकेको छ । देश र जनताको सेवा गर्न त पक्कै पनि कसैले जित्न चाहेको छैन ।

यसअघि चुनाव जितेर उनीहरूले जे गरे, त्यो ट्रयाक रेकर्डले त त्यस्तो कुनै छनक दिँदैन । फेरि उनीहरूको मात्र प्रश्न होइन, मुलुकमा जस–जसले चुनाव जिते, त्यो सबै देश र जनताका लागि थिएन भन्ने हरकोणबाट पुष्टि भइसकेकै छ ।

प्रस्तुत पृष्ठभूमिमा के भन्न सकिन्छ भने अपवादलाई छोडेर सबै लुटतन्त्र मच्चाउनकै लागि चुनाव जित्न चाहन्छन् । र, त्यसैका लागि यो नै यो दल–बदल गल्ला चलिरहेको छ ।

यो गल्ला अलि बढी तराई–मधेसमा चलेको छ । र, अख्तियार दुरूपयोग अनुसन्धान आयोगको एक अध्ययनले पनि सबैभन्दा भ्रष्टाचार तराई–मधेशका सिंहदरबारमै भएको देखाएको छ । यो कोणबाट हेर्दा पनि खासगरी तराई–मधेसमा चलेको ‘वल्ला घरको नरे पल्ला घर सरे’ प्रवृत्ति केका लागि हो भन्ने अनुमान लगाउन गाह्रो छैन ।

यसले नेपालको तराई–मधेसको राजनीति लाभमा आधारित छ भन्ने आरोपअरू सही सावित हुँदै गएको छ । यस्तो लाग्छ, यही क्रम स्थानीय चुनावका लागि उम्मेदवारी दर्ता गर्ने समयसम्मै चल्यो र यिनै दलबदलुहरूले उम्मेदवारी पाए भने तराई–मधेसको राजनीतिको नूर कहिले नउठ्ने गरी गिर्नेछ ।

अहिले नेपालको राजनीतिक परिवृत्तमा जुन किसिमको दल–बदल गल्ला चलेको छ, यसले मुलुकको राजनीतिक विकृतिको पारोलाई अरू उकासेको छ । आखिर राजनीति पदका लागि रहेछ र पदचाँहि लुट्नका लागि रहेछ भन्ने खालको भाष्य नेपाली समाजमा जबर्जस्ती निर्माण भइरहेको छ । र, यो भाष्य निर्माण गर्न राजनीतिको मुहान सङ्लो पार्नुपर्नेहरू नै लागिरहेका छन् ।

अर्को विचित्रको कुरा के छ भने यो गल्ला उठाउन लागेकाहरूले आफ्नो दलका इमान्दार नेता कार्यकर्तालाई भने दलमा टिकाउन सकेका छैनन्, बरू दल नै दुर्घटनामा पारेका छन् । तर, तिनै नेताहरू अर्को दलका बदनामहरूलाई भने रातो कार्पेट ओछ्याएर स्वागत गरिरहेका छन् । आखिर यस्तो प्रवृत्तिबाट कस्तो दल बन्छ ?, कस्तो राजनीति स्थापित हुन्छ ? कम्तीमा यति त हेक्का हुनुपर्ने हो, तर विडम्बना यति सामान्य कुरामा पनि ध्यान दिइएको पाइँदैन ।

राजनीतिक दलहरू कुनै निश्चित राजनीतिक दर्शन, विचारधारा, मूल्य, मान्यता र सिद्धान्तका आधारमा स्थापना गरिएका हुन्छन् र तिनीहरूकै आधारमा अरू दलभन्दा भिन्न हुन्छन् । दलको जनाधार बनाउने मूल आधार पनि यिनै हुन् । तर, नेपालको पछिल्लो राजनीतिक परिदृश्य हेर्यो भने अब नेपालमा राजनीतिका यी सबै चुरा कुराहरूको कुनै अर्थ छैन ।

अध्ययन अनि चिन्तन–मननको संस्कार त अब केही नै बाँकी रहेन भने पनि हुन्छ । अब दल केका लागि स्थापना हुन्छ र यसका मार्गदर्शक सिद्धान्त अनि आचारण के हुन्छन् भन्ने पनि गौढ भइसक्यो । जसरी होस् भीड जम्मा गर्ने र चुनाव जित्ने अनि त्यही अंकगणितका आधारमा जतिसक्दो देश लुट्ने, अहिलेका लागि मुलुकको सरदर राजनीति यही पुगेर अड्किएको छ ।

मुलुकको राजनीति यस्तो अप्ठ्यारो अवस्थामा पु¥याइएको छ कि अब यसलाई सही मार्गमा ल्याउन सहज छैन । सहज मार्गमा ल्याउने भनेको मुलुकका स्थापित ठूला दल र तिनीहरूको मूल नेतृत्वको आचरण र व्यवहारले नै हो । तर, नेताहरूको आचरण हे¥यो भने अब त यस्तो लाग्छ, राजनीति भनेको सबैभन्दा खराब मानिसले गर्ने धन्दा हो ।

प्रश्न कुनै एउटा दलको वा एक नेताको होइन, सबै दलमा यही रोग छ, प्रश्न उन्नाइस÷बीसको मात्र हो । यो सबै परिदृश्य हे¥यो भने लाग्छ, अब नेपालको राजनीति सही ट्रयाकमा ल्याउन असम्भव नै त नभनौ तर सहजै सम्भव पनि छैन ।

मुलुकको राजनीतिलाई सङ्लो बनाउन अहिलेको अवस्थामा यो दल–बदल गल्लालाई तुरून्त बन्द गर्नुपर्छ । कुनै पनि एक दलबाट अर्को दलमा जाने सार्वजनिक जिम्मेवारीमा रहेको वा निर्वाचित पदाधिकारीलाई कम्तीमा पनि एक वर्षको लागि कानुन बनाएरै कुलिङ पिरियड लगाउनु पर्छ । यसको अर्थ दल बदलेर नयाँ दलमा जानेलाई कम्तीमा पनि एक वर्षसम्म उम्मेदवार बनाउनु हँुदैन । यसो गर्न सकियो भने चुनावका पूर्वसन्ध्यामा हुने दल–बदल गल्ला बन्द हुन्छ ।

अहिलेका लागि कानुनतः यसो गर्न नसकिए पनि सबै राजनीतिक दल मिलेर यो दल–बदल गल्ला त बन्द गर्न सक्छन् । त्यो नसके पनि दल–बदल गर्ने जो कोहीलाई पनि उम्मेदवार नबनाउन सक्छन् । त्यसो पनि गर्न नसके, त्यही दलका पुराना सदस्यले बागी उम्मेदवारी दिएर हराउन सक्छन् । त्यो पनि नभए जनताले मत नदिएर उनीहरूलाई हराउन सक्छन् । कुनै न कुनै उपाय लगाएर यो दल–बदल गल्लालाई निरूत्साहित गर्दै अन्ततः हटाउन जरूरी छ ।

यो संसारमा भएका हरेक समस्याको समाधान पनि छ । नेपाली राजनीतिमा देखिएको यो पछिल्लो समस्याको पनि समाधान छ । यो समस्या अहिले जुन रफ्तारमा उकालो चढिरहेको छ, जतिसक्दो यसलाई खैचेर ओरालो झार्न जरूरी छ । यसो गरिएन भने नेपालको राजनीति कहिल्यै पनि ट्रयाकमा नआउने गरी लिक बाहिर जान सक्छ । त्यो अप्रिय दिनमा नेपाललाई पु¥याउनुअघि नै सम्बन्धित सबै पक्ष आ–आफ्नो दुष्कर्मबाट बाहिर निस्कनु पर्छ ।

प्रतिक्रिया दिनुहोस्