Logo
Logo

दुवै आईजीपीविरुद्ध षड्यन्त्र सुरु


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको नेतृत्वमा विगतमा जस्तै गुटबन्दी कायमै छ । अझ पछिल्लो समय दुवै संगनठमा आईजीपी परिवर्तनका लागि एक समूह सक्रियताका साथ लागेको छ ।

नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालको प्रधानमन्त्री केपी शर्मा ओलीसँग राम्रो सम्बन्ध छैन भनिन्छ । अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’कै दबाबका कारण उनी महानिरीक्षक भएका हुन् । उनी महानिरीक्षक भएपछि प्रहरीको साख घटेको छ । कमाण्डमा परिपक्वता नभएको गृह मन्त्रालयकै अधिकारीहरु बताउँछन् ।

पछिल्लो समय प्रचण्डनिकट नेताहरु समेत खनालसँग चिढिएका छन् । स्रोतका अनुसार गृहमन्त्री निकट एक समूहसँग मिलेर खनालले काम गरेपछि प्रचण्डको टिम समेत खनालसँग असन्तुष्ट बनेको छ । यही मौकामा उनलाई हटाउन एक समूह सक्रियताका साथ लागेको छ । बिमेस्टेकको सुरक्षा बैठकमा जाँदा देशको परराष्ट्र नीति विपरीत भारतको पक्षमा बोलेको आरोप समेत उनीमाथि लागेको छ । सोही कारण उनको भारत भ्रमणसमेत सरकारले अस्वीकृत गरिदिएको छ ।

सशस्त्र प्रहरीमा पनि यस्तै अवस्था छ । अख्तियारमा बेनामे उजुरी हालेर आईजी शैलेन्द्र खनाललाई कमजोर बनाउने खेलमा एक समूह सक्रिय छ । सिंहबहादुर श्रेष्ठ आईजीपी हुँदा भएका खरिदसँग खनाललाई जोडेर आयोगमा उजुरी हालिएको छ ।

उता नेपाल प्रहरीका आईजीपी सर्वेन्द्र खनाललाई व्यापारमा लागेको आरोप लागेको छ । गत शुत्रबार र शनिबार आयोजना गरिएको प्रहरी र सरकारी वकिलको सम्मेलन उनले आफ्ना साथीको पार्टी प्यालेसमा गराएका थिए ।

जबकि यस्ता कार्यक्रम गर्न भनेरै नेपाल पुलिस क्लब बनाइएको हो । तर, लाखौं खर्च गरेर साथी सुबु केसीको बसुन्धरा बैंक्वेटमा सो कार्यक्रमा आयोजना गरेपछि विवाद भएको हो । केसीले महानिरीक्षक खनाललाई समेत पार्टनर बनाएर विभिन्न क्षेत्रमा लगानी गरेको चर्चा प्रहरीमा छ । यस विषयमा आईजी खनालले दृष्टिसँग भने– पहिला पनि बाहिर कार्यक्रम गर्ने चलन थियो । पुलिस क्लबमा ठाउँको अभाव भएकाले बाहिर गर्नुपरेको हो । त्यसमा मिडियाले अन्यथा लिनु हुँदैन ।

जुनियर डिआईजीको कमाण्डमा सिनियर ?

प्रधानमन्त्री केपी शर्मा ओली विदेशमा रहेका बेला नेपाल प्रहरी र सशस्त्र प्रहरीका डीआईजीको सरुवा भएको छ । प्रधानमन्त्रीसँग फोनमै राय लिएर गृह मन्त्रालयले शुक्रबार बेलुका सरुवा गरेको हो ।

डिआईजी सरुवामा यसपटक पनि निकै चलखेल भयो । केही डिआईजीहरु सात महिनामै हटाइएका छन् भने केहीलाई दोस्रोपटक प्रदेश प्रमुख बनाइएको छ ।

सातै प्रदेशका प्रहरी हेरफेर भएको सरुवामा प्रदेश नम्बर १ मा ठाकुर ज्ञवाली र दुईमा प्रद्युम्न कार्कीको सरुवालाई राम्रो मानिएको छ । प्रदेश नम्बर ३ मा शेरबहादुर बस्नेतलाई खटाइएको छ । प्रदेश नम्बर पाँचमा हुँदा राम्रो काम गर्न नसकेको भन्दै गृहमन्त्रालयले केही महिनामै उनलाई हटाएर पिताम्बर अधिकारीलाई खटाएको थियो । उनै बस्नेतलाई अहिले प्रदेश नम्बर ३ को जिम्मेवारी दिइएको छ ।

उता कार्यक्षमतामा निकै कमजोर डिआईजी बिनोद शर्मा घिमिरेलाई गण्डकी प्रदेशको जिम्मेवारी दिइएको छ । आईजीपीसँगै अवकाश पाउन लागेका सुरेशबिक्रम शाह प्रदेश नम्बर पाँच तथा पूर्णचन्द्र जोशीलाई कर्णाली प्रदेशमा खटाएको छ । अवकाश हुने बेला कमाउने मौकास्वरुप उनीहरुलाई प्रदेशमा खटाइएको चर्चा गरिएको छ । राम्रा अधिकृतका रुपमा चिनिने तारिणी लम्साल सुदूरपश्चिम प्रदेशमा धकेलिएका छन् । प्रदेश नम्बर २ का डिआईजी हरि पाल, प्रदेश नम्बर पाँचका पिताम्बर अधिकारी, कर्णाली प्रदेशका महेशबिक्रम शाह आठ महिना पनि नपुग्दै फेरिएका छन् । सबै डिआईजीलाई प्रदेश इन्चार्ज बनाएर कमाउने अवसर दिने गृहको सोचाईअनुसार यसरी छोटो अवधिमै डिआईजीको सरुवा भएको चर्चा प्रहरीमा छ ।

प्रदेश २ नै मागेका डिआईजी सूर्यप्रसाद उपाध्यायलाई अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयको प्रमुखका रुपमा सरुवा गरिएको छ । विमानस्थल प्रहरी महानगरीय प्रहरी कार्यालय मातहतको कार्यालय हो । जहाँ उपाध्याय भन्दा एक ब्याच जुनियर डिआईजी शैलेश थापाले कमाण्ड गरिरहेका छन् । जसअनुसार विमानस्थलमा प्रमुखका रुपमा उनी जुनियर डिआईजीको कमाण्डमा खटिनुपर्ने हुन्छ । इन्चार्ज पाएकाले उनी जुनियरकै कमाण्डमा खटिन तयार हुन्छन् कि हुँदैनन् अर्काे महत्वपूर्ण विषय छ । यस्तै समस्यापछि यसअघि शेरबहादुर बस्नेत त्यहाँबाट सुरक्षा परिषद्मा सरुवा मागेर गएका थिए । त्यसयता एसएसपीको कमाण्डमा विमानस्थल चलेको छ । विमानस्थलमा एसएसपीलाई नै खटाउने निर्णय गरिएको बताइए पनि डिआईजीलाई भाग पु¥याउन फेरि डिआईजी पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्