
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जलभण्डारको खोजी र दीर्घकालीन प्रयोग गरेर भएका जलभण्डार र पानीको गुणस्तर जोगाउन ध्यान दिनुपर्ने बताएका छन् । ‘भूमिगत जलस्रोतको संरक्षण र सम्वद्र्धन गरौँ’ भन्ने मूल नारासहित यस वर्ष मार्च २२ का दिन मनाइने विश्व पानी दिवसको सन्दर्भ पारेर शुभकामना दिँदै उनले सो कुरा बताएका हुन् ।
भूमिगत जलस्रोतको संरक्षण र सम्वद्र्धनका लागि आ आफ्नो तहबाट सक्दो योगदान गर्न अपिल गर्दै प्रधानमन्त्री देउवाले भने, “जनसंख्याको ठूलो हिस्सा जलस्रोतको ठूलो अंश मानिने भूमिगत जलस्रोतको प्रयोगमा आश्रित छ, त्यसैले यसको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हुन आउँछ ।” उनले जलस्रोत संरक्षणको जिम्मेवारीलाई प्रभावकारी ढंगले कार्यान्वयनको प्रक्रियामा अघि बढाउन अन्तर निकाय समन्वय, सूचना प्रणालीको सुदृढीकरण, जलस्रोतको समन्यायिक वितरणसँगै उक्त विषयमा प्राज्ञिक अध्ययन, अनुसन्धान र प्रभाव विश्लेषणलगायत कार्यलाई निरन्तरता दिइनुपर्ने धारणा व्यक्त गरे ।
प्रधानमन्त्री देउवाले सरकार एक्लैले मात्र भूमिगत जलस्रोतको संरक्षण र दिगो विकास लक्ष्यअन्तर्गत खानेपानी तथा सरसफाइसम्बन्धी लक्ष्य प्राप्त गर्न सम्भव नभएको उल्लेख गर्दै सम्पूर्ण क्षेत्रबाट आवश्यक सहयोग, सहकार्य र समन्वयको खाँचो रहेको बताए ।














