
काठमाडौं । १८ वर्ष मुनिको महिला साफ च्याम्पियनशिप फुटबल अन्तर्गत आज नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ ।
भारतको जमसेदपुरमा बेलुका सवा ७ बजे सुरु हुने खेलमा आज नेपाल र बंगलादेशीबीच प्रतिस्पर्धा हुन लागेको हो । नेपालले आज सो प्रतियोगिताको अन्तिम खेल खेल्न लागेको हो । च्याम्पियनशिपको पहिलो खेलमा नेपाल भारतसँग ७–०, दोस्रो खेलमा बंगलादेशसँग ४–२ र तेस्रो खेलमा भारतसँग ५–१ गोलले पराजित भएको थियो । नेपाल, भारत र बंगलादेशका महिला खेलाडीले भाग लिएको उक्त च्याम्पियनशिपमा नेपालले अंक जोड्न सकेको छैन ।
तीन वटा खेल खेलेको नेपाल अन्तिममा छ । ९ अंकसहित भारत शीर्ष र तीन अंकसहित बंगलादेश दोस्रो स्थानमा छ । डबल राउण्ड रोबिनको आधारमा जारी च्याम्पियनशिपको उपाधि शीर्ष टीमले जित्नेछ ।











