
ताप्लेजुङ । जिल्ला अस्पताल ताप्लेजुङको फार्मेसी कक्षमा कार्यरत चार जना कर्मचारी निष्कासित भएका छन् । आर्थिक अनियमितताको आरोप लागेका उनीहरुलाई अस्पताल व्यवस्थापनले निष्कासित गरेको हो ।
फार्मेसीमा आर्थिक अनियमितता गरेकोे विषय सार्वजनिक भएसँगै छानबिन गर्न समिति गठन भएको थियो । गठित उक्त समितिले अनियमितता गरेको निष्कर्ष निकाल्दै प्रतिवेदन बुझाएपछि घटनामा मुछिएका ती सबै कर्मचारी निष्कासनमा परेका अस्पताल व्यवस्थापन समितिका अध्यक्ष घनेन्द्र मादेनले बताए । अस्पताल व्यवस्थापन समितिको बैठकले गएको चैत्र २ गते सहायक प्रमुख जिल्ला अधिकारी यमबहादुर भट्टराई संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । सोही समितिले फार्मेसीमा अनियमितता भएको निष्कर्षसहितको प्रतिवेदन बुझाएको हो ।
समितिको प्रतिवेदन पाएसँगै अस्पताल व्यवस्थापन समितिको बैठकले प्रतिवेदनमा उल्लेखित सुझाव कार्यान्वयन गर्ने निर्णय गरेको थियो । सहायक प्रमुख जिल्ला अधिकारी भट्टराईको संयोजकत्वमा गठित पाँच सदस्यीय छानबिन समितिमा अस्पतालका डाक्टर दीपेन्द्र बोखिम, प्रहरी निरीक्षक राकेश यादव, कोष तथा लेखा नियन्त्रक कार्यालयका लेखापाल दुर्गा थापा र स्वास्थ्य कार्यालयका विवेक थुलुङ सदस्य थिए । निष्कासनमा परेका कर्मचारीले अब जिल्ला अस्पताल ताप्लेजुङमा काम गर्न नपाउने तर, अन्य अस्पताल वा जिल्लामा गएर काम गर्न भने पाउनेछन् ।
फार्मेसीमा कार्यरत ती कर्मचारीमाथि डाक्टरको सिफारिस भन्दा बाहेकको औषधी पनि बिरामीलाई दिने गरेको, स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गतको रकम दाबी गर्न बीमा फाँटलाई कागजात पेश गरेर बिरामी, अस्पताल र बीमा बोर्डलाई नै आर्थिक भार पर्नेगरी अनियमितता गरेकोलगायत आरोप लागेको छ । अनियमितता भएको रकम यकिन गरी असुल गर्ने कि नगर्ने भन्ने बारे बीमा समितिले छानबिनपछि निर्णय लिने बताइएको छ ।











