काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले कम्युनिष्टहरूमा मात्र नभएर देशकै सबैभन्दा ठूलो पार्टी भएको बताएका छन् ।
बुधबार सुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले भने, ‘एमाले कम्युनिष्टहरूमा ठूलो हो भनिन्छ तर, यो गलत छ । हामी समग्रमा ठूलो पार्टी हो । प्रजा परिषद पनि यसमै समाहित भएको छ । यो सबै लोकतान्त्रिक आन्दोलनको मुलधार हामी हौँ ।’

उनले यही केन्द्रीय कमिटि बैठकले नै स्थानीय निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन जनपरिचालन कसरी गर्ने भन्ने तय गर्ने बताए ।
अध्यक्ष ओलीले एमालेसँग लोकतान्त्रिक आन्दोलनको नेतृत्व गरेको अनुभव रहेको बताउँदै भने, ‘थुप्रै विषयहरू सत्तापक्षिय र जनविरोधी ढंगले प्रचार भइरहेको छ । आजका समस्या तथा चुनौती सामना गर्दै समाधान गर्नुपर्ने अभिभारा एमालेसँग छ ।’
जनताको घरदैलोमा विकास पु¥याउने स्थानीय सरकारले भएको बताए । केही ठूला आयोजना मात्रै केन्द्रबाट जाने उनको भनाइ थियो । एमालेमा पहिले आठ लाख ५५ हजार सदस्य रहेकोमा अहिले ११ लाख सदस्य पुगेको उनको दाबी छ ।
काठमाडौंको बबरमहलस्थित कार्की व्यांकेटमा बैठक जारी बैठकमा स्थानीय निर्वाचन केन्द्रीत विभिन्न ११ वटा एजेण्डामा छलफल हुँदैछ । साथै सातै प्रदेशका अध्यक्षको रिपोर्टिङ, अध्यक्ष ओलीबाट समसामयिक राजनीतिक प्रतिवेदन, विभागहरूलाई पूर्णता, स्थानीय तहका उम्मेदवार सिफारिसको मापदण्ड प्रक्रिया, स्थानीय निर्वाचनको घोषणापत्र, निर्वाचनमा पार्टी नेतृत्वको भूमिका, पार्टी स्थापना दिवसलगायत बैठकका एजेण्डा छन् ।











