काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी स्थानीय तह निर्वाचनमा एमाले एक्लैले जित निकाल्ने बताएका छन् । बुधबार काठमाडौंमा सुरु भएको केन्द्रीय कमिटी बैठकमा प्रस्तुत आफ्नो राजनीतिक प्रतिवेदनमा यस्तो दावी गरेका छन् ।

विभिन्न पाँच बुँदामा समेटिएको प्रतिवेदनमा ओलीले आगामी स्थानीय तह निर्वाचनमा एमाले एक्लैले जित निकाल्ने एमालेसँग पर्याप्त आधार रहेको समेत बताएका छन् ।
अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमा भनिएको छ, ‘यस निर्वाचनमा हामीसँग जीतका पर्याप्त आधार छन् । हाम्रो पार्टीप्रतिको जनविश्वास दिनप्रतिदिन बढ्दै जानु नै मुख्य आधार हो ।’
अध्यक्ष ओलीले पाँच दलीय गठबन्धनका कारण नेकपा एमाले डरायो भन्ने मनोवैज्ञानिक प्रभाव पार्न खोजिएको बताउँदै भनेका छन्, ‘तर, मोर्चा सामर्थ्यको प्रतीक होइन, कमजोरीको द्योतक हो । हामीसँग जितका पर्याप्त आधार छन् । घेराबन्दी, आक्रमण र दुष्प्रचारबीच हामी जित निकाल्छौँ ।’











