Logo
Logo

सत्ताधारीहरू फेरिनु नै सबथोक होइन



भर्खर-भर्खर राजनीतिक चेतसहित परिवर्तनको दिशामा हिँड्दा लाग्थ्यो– राजनीति नै सबभन्दा महत्वपूर्ण कुरा हो । कुनै आकार नै नआइसकेका संगठनहरुमा सामेल हुँदासमेत त्यो बेलाको निम्ति त सबैभन्दा ठिक बाटो त्यही नै लाग्थ्यो ।

मेरा समकालीन मित्रहरुसहितको एउटा सिँगो पुस्ताकै कुरा गर्दैछु– बाटो सजिलो थिएन । हाम्रोभन्दा अघिल्लो पुस्ताका अग्रजका संस्मरण सुन्दा, पढ्दा लाग्छ– उहाँहरुको बाटो झनै कठिन रहेछ । उहाँहरुले पनि आफ्नो जीवनको बाटोमा धेरै संघर्ष गर्दै हिँड्नु परेको रहेछ । जुनसुकै युगमा पनि नयाँ बाटो खोज्नेले त बेलाबेला आफै बाटो बनाउने कठिन काम नगरी धरै नहुने रहेछ ।

भर्खरैमात्र देशको इतिहासमा अग्लो कद बनाउन सफल एकजना मूर्धन्य व्यक्तिको आत्मकथा ‘सत्यमोहन’ लोकार्पण भयो । यो पुस्तक आउनु ठूलो कुरा हो । पुस्तक आउनु अगावै उहाँ सबैको निम्ति उदाहरणीय पात्र भइसक्नु भएको हो ।
धेरै बाँच्दैमा मात्र कोही सबैका निम्ति उदाहरण बन्न सक्दैैन । उहाँले गरेका कामले नै सत्यमोहन ‘साँच्चैका सत्यमोहन’ बन्नु भएको हो । अनेक संघर्षबाटै सत्यमोहन बन्नुभएको हो । तर, सबै संघर्ष उस्तै हुँदैनन् ।

उहाँका आफ्ना स्पष्ट मान्यता छन् । तर, ती मान्यताले परिवर्तनका निम्ति कुनै राजनीतिक पार्टीमा लिएर गएको, कुनै हिंसापूर्ण आन्दोलन वा क्रान्तिमा संलग्न गराएको थिएन । उहाँले जे जस्ता बौद्धिक काम गर्नुभयो, तिनले नै परिवर्तनका विभिन्न पक्षमा योगदान पु¥याए । र ती सत्कार्यले देशलाई धेरै कुरा दिएको छ ।

अहिले जनताको आक्रोश कुनै एउटा पार्टीमाथि केन्द्रित छैन, सबै पार्टीप्रति र राज्यसंयन्त्रप्रति आक्रोश छ । जनआक्रोश विष्फोट हैन दीर्घरोगको रूपमा भित्रभित्रै सल्किरहेको छ । र, देशलाई नै पोलिरहेको छ । अब पनि सिर्जनाविनाको राजनीतिक गतिविधि, चर्का नारा, एकार्काप्रतिको गालीगलौज आदिमा रमाइरहँदा राजनीतिको मूल्य धेरै महँगो तिर्नुपर्ने हुन्छ ।

प्रायः ‘मूलधार’का क्रान्तिकारीमा चर्का नारा, हिंसामोह, नांगो पक्षधरता आदीबिनाको सिर्जनशील कामप्रति तिरस्कार भाव मात्र हैन कुनै बेला त वैरभाव नै देखिने गरेको छ । सिर्जनाविनाको संघर्ष मात्रैले त अहिलेको उपलब्धि झन् के पो हुन्थ्यो होला र ? राजनीतिक परिवर्तनपछि त झन् सिर्जना नभइ हुँदैन । र, त्यो सिर्जनाको बीउ क्रान्तिकालमै रोपिनुपर्ने हुन्छ ।

सबै बीऊ क्रान्तिकारीले रोप्नुपर्छ भन्ने छैन । के कुरा बिर्सनु हुन्न भने कहिल्यै ‘क्रान्तिकारी’को पगरी नगुँथेका सत्यमोहनजस्तै धेरै विद्वान, अन्वेषक, कवि, लेखकहरुले गरेका कामको जगमा क्रान्तिका धेरै उपलब्धीहरु उभिएका छन् । क्रान्तिले त्यस्ता जग बनाउने भूमि तयार गरिदिने हो भने जनताले ती उपलब्धिमा जीवन पाउँछन् ।

अहिले हामी स्पष्ट देखिरहेका छौँ- सत्ताधारीहरु फेरिनु नै सबथोक हाइन रहेछ । राज्यव्यवस्था नै फेरिनु पनि सबथोक होइन रहेछ । प्रसस्त गौरवगाथा गाएर, ठूला सपना देखेर, देखाएर, देशका सबभन्दा सुन्दर मन भएका प्रतिभाशाली इमान्दार निडर युवालाई शस्त्र बोकाएर गरिएका क्रान्ति, आन्दोलनहरु पनि कतिपय ठाउँमा निरर्थक मात्र होइन, जनताका निम्ति झनै दुःखका कारक बनेका छन् ।

इरान, अफगानिस्तान लगायतका मुलुकले अझैपनि यस्ता ‘महँगा’ क्रान्तिको कथा भनिरहेकै छन् । हाम्रा आफ्नै कथा पनि कम छन् र ?

संसारमा जहिले पनि यथास्थितिप्रति त असन्तुष्टि नै हुन्छ । मान्छेको जातै त्यस्तो हो– जे छ, त्यसले पुग्दैन । जहिले पनि यो भन्दा राम्रो चाहिन्छ । यो असन्तुष्टिले नै मान्छेलाई यहाँसम्म ल्याइपुर्याएको हो ।

जनता भनेको यथास्थितिप्रति असन्तुष्ट र वर्तमानभन्दा राम्रो जीवनको चाहना गर्ने मान्छेको जमात हो । जनताको शक्ति पनि त्यही असन्तुष्टिभित्र लुकेको हुन्छ । त्यही असन्तुष्टिको उर्जाले त हो नि ठूला–ठूला परिवर्तन ल्याउने । तर यस्ता परिवर्तन सधैँ सकारात्मक हुन्छन् भन्ने पनि हुँदैन । कुनै बेला त यस्ता असन्तुष्टि क्रान्तिका रूपमा विष्फोट पनि नभई दीर्घरोगका रूपमा जनताका मनमा गाडिइरहन पनि सक्छ ।

अहिले देशले यस्तै स्थिति भोगिरहेको छ । जनतामा असन्तुष्टि र सबै राजनीतिक पार्टीप्रति अविश्वास व्याप्त छ । गणतन्त्र स्थापना पछि कुनै एउटै पार्टीले मात्र शासन गरेको भए, अनि जनतामा अहिले जत्तिकै असन्तुष्टि व्याप्त भएको भए, त्यस्तो कुनै पार्टीको शासनमात्र होइन, सम्भवतः व्यवस्थासमेत असन्तुष्टिको विष्फोटमा परेर सिद्धिइसक्ने थियो– जसरी जनताको आक्रोशको तारो भएको बेला, त्यति बलियो र निरंकुश राजतन्त्र पनि ढल्यो, जसरी पञ्चायत ढल्यो, कसरी राणाशाही ढल्यो ।

अहिले जनताको आक्रोश कुनै एउटा पार्टीमाथि केन्द्रित छैन, सबै पार्टीप्रति र कर्मचारीतन्त्रलगायत सिँगै राज्यसंयन्त्रप्रति आक्रोश छ, असन्तुष्टि छ । जनआक्रोश विष्फोट हैन दीर्घरोगको रूपमा भित्रभित्रै सल्किरहेको छ र देशलाई नै पोलिरहेको छ ।

यस्तो बेला धेरै चर्का राजनीतिक कुरा गर्ने, एकार्कालाई पछार्ने दाउ पर्खेर बस्ने, घृणाको खेती गर्ने काममा लागेर केही उपलब्धि हुँदैन । बरु विभिन्नताका बीचमा समानताको खोजी गर्ने उपयुक्त बेला हो यो । जानेर नजानेर हाम्रो पुस्ताले (हाम्रोभन्दा पनि अघिका पुस्ताले) भावी पुस्तालाई धेरै गह्रौँ भारी बोकाइदिएका छौँ । उनीहरुको भावी जीवनलाई अहिलेदेखि नै अप्ठ्यारोमा पारिदिइसकेका छौँ । के गर्दा त्यो भारी केही हल्का हुन्छ भनेर चिन्तन गर्नु पर्ने बेला हो यो ।

हाम्रा नाति–नातिनाले सास फेर्ने हावा र पिउने पानी नै पाउँछन् कि पाउँदैनन् होला ? ‘हाम्रो’ भन्न पाउने कुनै जमिनका सीमाना उनीहरुसँग बाँकी होला कि नहोला ? उनीहरुका जीवनमा फूल र मौरी, चरा र पुतली, तरकारी र फलफूलसम्म पनि होलान् कि नहोलान् ?

पृथ्वीको कुनै अर्को कुनामा भएको लडाइँले हाम्रो घर नजिकको पसलमा पाइने चीजको मूल्य बढिरहेको छ । अर्को गोलार्धमा भएको आगलागीले हामीलाई सास फेर्न गाह्रो भइरहेको छ । मानिस कसरी अहँकार र हिंसाभावबाट मुक्त हुनसक्छ भनेर चिन्तन गर्ने कुरा अब दार्शनिक बुद्धिविलासको कुरा होइन, तात्कालिक आवश्यकता भैसक्यो ।

सृर्जनाशून्य समाजमा यस्ता प्रश्नको समाधान खोजिँदैन । अब पनि सिर्जनाबिनाको राजनीतिक गतिविधि, चर्का नारा, एकार्काप्रतिको गालीगलौज आदिमा रमाइरहँदा राजनीतिको मूल्य धेरै महँगो तिर्नुपर्ने हुन्छ- आउने पुस्ताका निम्ति त त्यो अझै महँगो पर्न जान्छ । त्यसलाई कम गर्न विविधताका बीच समानताको खोजी गर्ने र सिर्जनात्मक काममा बढी समय र शक्ति खर्च गर्न सकौँ । सबको मंगल होस् !

प्रतिक्रिया दिनुहोस्