काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अबको निर्वाचन माओवादी केन्द्रका लागि ब्याटल भएको बताएका छन् ।
आज (बुधबार) पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टीका केन्द्रीय आयोगहरुको अन्तरक्रियात्मक संयुक्त बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले चुनाव फरक प्रकारको ब्याटल भएको बताएका हुन् ।
पार्टीका नेता कार्यकर्ताहरुले संगठन व्यवस्थित नगर्दा र अलि निष्क्रिय हुँदा प्रतिक्रियावादीहरुले कसरी आक्रमण गर्छन् भन्ने संसद विघटनसम्मको घटनाले देखाएको भन्दै अध्यक्ष प्रचण्डले संसद विघटनको घटना संविधान विघटन र परिवर्तनकारी शक्तिमाथिको आक्रमण भएको बताए ।
आफूहरुले परिवर्तनको रक्षाका लागि अपील गरेको बताउँदै अध्यक्ष प्रचण्डले संविधान, गणतन्त्र, संघीयता र समावेशी समानुपातिक जस्ता उपलब्धिहरुलाई जोगाउन आफूहरुले जित्नै पर्ने बताए । अहिलेको मुख्य काम स्थानीय तहको निर्वाचनमा सकारात्मक परिवर्तन ल्याउन पहल गर्नुपर्ने भन्दै उनले सबैले राजनीतिक र प्राविधिक रुपमा आफ्नो ठाउँबाट सक्रिय भूमिका खेल्नुपर्ने बताए ।
पार्टीमा भएका असल, अनुशासित र विषयगत क्षेत्रका कुशल कमरेडहरुलाई आयोगमा राखिएको भन्दै अध्यक्ष प्रचण्डले आयोगका सदस्यहरुलाई पार्टीका निर्वाचन केन्द्रीत अस्थायी कमाण्डमा कार्यविभाजन गरेर जोडिन र फिल्डमा काम गर्न निर्देशन दिए ।
बैठकमा अनुशासन आयोगकाम सचिव अशोक रोकाया, लेखापरीक्षण आयोगका सचिव टेकनाथ आचार्य र निर्वाचन आयोगका सचिव प्रदीप पोखरेलले आ-आफ्नो आयोगको रिपोर्ट प्रस्तुत गरेका थिए ।











