Logo
Logo
समाचार टिप्पणी

चिनियाँ विदेशमन्त्रीको अप्रत्याशित भ्रमण किन ?


1.7k
Shares

काठमाडौं । उत्तरी छिमेकी देश चीनका विदेशमन्त्री वाङ यी आगामी शुक्रबार काठमाडौं आउँदै छन् । तीन दिने नेपाल भ्रमणको क्रममा वाङले राष्ट्रपति, प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग उच्चस्तरीय भेटवार्ता गर्ने छन् ।वाङको भ्रमणको क्रममा एक चीन नीतिबारे नेपालको साझा प्रतिवद्धता, विगतका सम्झौता कार्यान्वयन र आगामी दिनमा साझा रुपमा गर्न सकिने कामबारे छलफल हुने चीनका लागि नेपालका पूर्व राजदूतहरू बताउँछन् ।

चीनका लागि नेपाली पूर्वराजदूत टंक कार्की एकअर्काको अवस्था बुझ्न र सहकार्यको आधारलाई फराकिलो बनाउन चिनियाँ विदेशमन्त्री वाङको नेपाल भ्रमण फलदायी हुने बताउछन् । विगत दुई वर्षदेखि कोरोना महामारीका कारण सामाजिक सम्बन्धमा असर गरेको अवस्थामा एकअर्कालाई बुझ्ने अवसरका रुपमा चिनियाँ विदेशमन्त्रीको भ्रमणलाई लिनुपर्ने उनी बताउँछन् ।

‘विगत दुई वर्षयताको घटनाक्रमलाई हेर्ने हो भने कोरोना महामारीको बीचमा पनि केही घटना भएका छन् । नेपाल र चीनबीच नभएको सीमा विवादको विषय उठाइएको छ । नेपाल–चीन सम्बन्धमा चिसोपन ल्याउने प्रयास पनि भएको छ । एमसीसीका विषय पनि छन,’ उनी भन्छन, ‘अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले एमसीसी नेपालको संसदबाट पारित नभए चीनको प्रभाव ठान्ने प्रतिक्रिया दिएपछिको विषयमा पनि छलफल गर्ने मौका मिल्ने छ ।’

यस्तै, युक्रेन संकटमा नेपालले युक्रेनको पक्षमा संयुक्त राष्ट्रसंघमा मतदान गरेको विषयमा पनि चीनले नेपालको धारणा बुझने उनी बताउँछन् । उनले भने, ‘विश्व राजनीतिमा आइरहेको परिवर्तनबारे चिनियाँ धारणा बताउन र नेपालको धारणा बुझ्न पनि चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमण तय भएको हो । चिनियाँहरू आफ्नो धारणा राख्ने र दुनियाँमा उत्पन्न समस्याको बारेमा नेपाल र चीनले कसरी साझा प्रयत्न गर्न सक्छन भन्ने पनि हो जस्तो लाग्छ । ’

नेपालको संसदले एमसीसी पारित गरेपछि चिनियाँहरू खुसी नभएको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताको स्टेटमेन्टबाटै प्रष्ट हुन्छ । नेपालले एमसीसीलाई आर्थिक सम्झौताको रुपमा मात्रै लिने व्याख्यात्मक घोषणाको व्यवहारमै लागू होस् भन्ने चीन चाहन्छ ।

अर्कोतर्फ नेपाल र चीनबीच विगतमा भएका सम्झौताको समीक्षा पनि भ्रमणको क्रममा हुने उनको भनाइ छ । कार्की भन्छन, ‘विगतमा भएका सम्झौतालाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषय पनि छ । चीन यो भ्रमणमार्फत नेपालसँगको सम्बन्धको महत्व हिजोजस्तै छ भन्ने सन्देश दिन चाहन्छ । साथै चीनबारे नेपालको पछिल्लो धारणा पनि बुझ्न चाहन्छ ।’

नेपालका लागि चिनियाँ पूर्वराजदूत हिरण्यलाल श्रेष्ठ एक चीन नीतिप्रति नेपालको प्रतिवद्धता, विगतमा भएका सम्झौता कार्यान्वयन र आपसी सम्बन्धबारे छलफल हुने बताउँछन् । नेपालले एमसीसी पारित गरेपछि चीन खुसी नभएको अवस्थामा हुन लागेको विदेशमन्त्रीको भ्रमण महत्वपूर्ण हुने उनी बताउँछन ।

उनी भन्छन, ‘नेपालको संसदले एमसीसी पारित गरेपछि चिनियाँहरू खुसी नभएको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताको स्टेटमेन्टबाटै प्रष्ट हुन्छ । नेपालले एमसीसीलाई आर्थिक सम्झौताको रुपमा मात्रै लिने व्याख्यात्मक घोषणाको व्यवहारमै लागू होस भन्ने चीन चाहन्छ । नेपालले एक चीन नीतिमा प्रतिवद्धता दोहो¥याउने छ । चीनसँग विगतमा भएका सम्झौता कार्यान्वयनका विषयमा पनि छलफल हुनेछ । रेल, ट्रान्समिसन लाइनलगायतका विविध विषयमा छलफल हुन्छ । छिमेकी मिलेरै बस्नुपर्छ भन्ने सन्देश यो भ्रमणले दिन्छ ।’

यस्तै, नेपालका लागि चिनियाँ पूर्वराजदूत महेश मास्के पश्चिमा देश र भारतले जतिसुकै घेराबन्दी गर्न खोजेपनि चीन पछि नहट्ने सन्देश दिन चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमण हुन लागेको बताउँछन् । उनी भन्छन, ‘इन्डो प्यासिफिक, क्वाड वा भारतसँग प्रतिरक्षा सम्झौता वा जी–सेभेनले चीनलाई सिधै घेराबन्दी गर्ने कुरा भए पनि चीन पछि हट्ने छैन भन्ने सन्देश दिन चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमण तय भएको हो ।’

देउवा नेतृत्वमा गठबन्धन सरकार बनेपछि वाङ नेपाल भ्रमणमा आउन लागेका उच्चस्तरीय पाहुना हुन् । परराष्ट्र मन्त्रालयले चिनियाँ विदेशमन्त्री वाङको भ्रमण मिति सार्वजनिक गरिसकेको छ ।

चीनका रक्षामन्त्री वेई फङ्गेले २०७७ मंसिर १४ गते नेपाल भ्रमण गरेयता वाङ उच्च चिनियाँ अधिकारी हुन् । नेपालले अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट अनुमोदन गरेपछि चीनबाट उच्चस्तरीय भ्रमण हुन लागेको हो ।

यसअघि तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विभाजनको संघारमा चिनियाँ रक्षामन्त्री वेईले नेपाल भ्रमण गरेका थिए । नेपालमा एमसीसीबारे आन्दोलन चर्किरहेको बेला अमेरिका र चीनबीच आरोप–प्रत्यारोप नै चलेको थियो । नेपालले एमसिसी सम्झौतालाई व्याख्यात्मक टिप्पणीसहित संसदबाट अनुमोदन गरेको छ ।

चिनियाँ विदेशमन्त्री वाङ यसअघि चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमण तयारीका क्रममा २०७६ साल भदौ २२ गते काठमाडौं आएका थिए । चिनियाँ राष्ट्रपति सीले २०७६ साल असोज २७ गते नेपाल भ्रमण गरेका थिए ।

चिनियाँ विदेशमन्त्रीको भ्रमणमा बिआरआई सहकार्यका विषयमा ठोस छलफल हुने बताइएको छ । बिआरआई कार्यान्वयन सम्झौताको मस्यौदा नेपालले पठाइसकेको छ । तर, चीनबाट जवाफ आइसकेको छैन ।

नेपालले तीन वर्षअघि नै पठाएका नौ परियोजनामध्ये एउटा पनि बिआरआई अन्तर्गत कार्यान्वयन भएको छैन । नेपाल चीन सीमापार रेलमार्ग, दमकको औद्योगिक पार्कको प्रगति शुन्यप्रायः छ । यस विषय वाङको भ्रमणका क्रममा उठ्ने परराष्ट्रका एक अधिकारीले जानकारी दिए ।

यस्तै, सीमापार रेलको सम्भाव्यता अध्ययनका लागि आउनुपर्ने चिनियाँ प्राविधिक टोली हालसम्म नआएको विषय पनि उठ्ने भएको छ । विश्वव्यापी फैलिएको कोरोना महामारीका कारण आयात–निर्यातमा विगतमा लगाइएका प्रतिबन्ध खुकुलो पार्नुपर्ने प्रस्ताव नेपालको रहने छ । नेपाल चीन सीमा प्रोटोकल सम्बन्धी बैठक बस्नुपर्नेमा विषय पनि उठाउने तयारी नेपालको छ ।

प्रतिक्रिया दिनुहोस्