
तनहुँ । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले तनहुँको बन्दीपुर गाउँपालिकाका भूमिहिनहरुलाई जग्गाधनीको दर्ता पत्र पूूर्जा (लालपूर्जा) वितरण गरेकी छन् ।
उक्त गाउँपालिकामा रहेका ४६ घरपरिवारलाई लालपूर्जा वितरण गर्दै उनले केही समयभित्रै भूमिहिन सुकुम्बासी र भूमिहिन दलितले जग्गाको लालपूर्जा पाउनेगरी राष्ट्रिय भूमि आयोग मार्फत काम भइरहेको बताइन् । मन्त्री श्रेष्ठले संविधानमा भएको नागरिकको हक कार्यान्वयलाई अहिलेको सरकारले पहिलो प्राथमिकतामा राखेको भन्दै जनताको काम गर्न स्थानीय तहका जनप्रतिनिधि र मातहतका कर्मचारीलाई इमान्दार भएर लाग्न आग्रह गरिन् । उनले भूमिहिन दलित र भूमिहिन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न राष्ट्रिय भूमि आयोग मार्फत काम सुरु गरिसकेको भन्दै बारम्बार उठिरहने भूमि सम्बन्धी समस्या दिगो रुपमानै समाधान गर्न आफू लागीपरेको बताइन् ।
मन्त्री श्रेष्ठले संविधानमा भएको रोजगारीको हकको कार्यान्वयनका लागि शहीद तथा बेपत्ता परिवारका छोराछोरी, हरुवा चरवा र वादी समुदायका युवा तथा उनीहरुका सन्तानलाई विशेष नापीको तालिम सुरु गर्न लागिएको पनि बताइन् । उनले यसअघि महोत्तरीको रामगोपालपुर, सप्तरी, धनुुषा, सुनसरी, चितवन, काठमाडौंको कीर्तिपुर नगरपालिका र भक्तपुरको मध्यपुरठिमि नगरपालिकाको गाउँब्लकमा रहेका भूमि विहिनहरुलाई लालपूर्जा वितरण गरिसकेकी छन् ।
मन्त्री श्रेष्ठले मन्त्रालय सम्हालेपछि हालसम्म देशभरको गाउँब्लकमा रहेका १५ हजार भन्दाबढी घरपरिवारलाई लालपूर्जा वितरण गरिसकिएको छ । २०२१ साल यता जग्गाको नापी हुँदा गाउँब्लकका रुपमा राखिएका र विभिन्न समयमा जग्गा नापी भएर पनि लालपूर्जा विहिन बनिरहेकाहरुलाई लालपूर्जा वितरण अभियान तीव्र पारिएको बताइएको छ ।











