काठमाडौं । पुपुवा न्युगिनी (पीएनजी)ले नेपालसामु जीतका लागि २ सय ९३ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिलो ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ९२ रन बनाएको हो ।

पीएनजीका लागि चाल्र्स अमिनीले सर्वाधिक ७७ रनको योगदान दिए । यसक्रममा ६ चौका र १ छक्का हिर्काए । त्यस्तै, कप्तान असद भालाले ६० रन बनाउँदै राम्रो साथ दिए । ५५ बलको इनिङमा उनले ११ चौका हिर्काए ।
खेलको अन्त्यतिर नोरमान भानुआले विस्फोटक ब्याटिङ गर्दै २८ बलमा ४७ रन बनाए । उनले यस क्रममा ४ चौका र ३ छक्का हिर्काए । ओपनर टोनी उराले ३८ रन बनाए भने राइली हेकुरेले ३१ रनको योगदान दिए ।
आईसीसी विश्वकप डिभिजन टू अन्तर्गत पीएनजीसँग दुई एकदिवसीय खेल खेलेको नेपालले आज घरेलु मैदानमा पीएनजीसँग पहिलो एकदिवसीय सिरिज खेल्न लागेको हो ।











