काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्थाले नै आफूलाई छाडेको बताएका छन् ।
उनले भिडियोमार्फत आफूले राजसंस्थाको एजेण्डा नछाडेपनि पूर्वराजा ज्ञानेन्द्र शाहले आफूलाई छाडेको बताएका हुन् । उनले भनेका छन्, ‘वास्तवमा मैले राजसंस्था छाडेको भन्दा पनि राजाले मलाई छाडेको भन्नु उपयुक्त हुन्छ ।’

२०६२–०६३ सालको राजनीतिक परिवर्तनपछि देश गणतन्त्रमय हुँदा आफूले राजसंस्थाको एजेण्डा अघि सारेको स्मरण गर्दै उनले राप्रपाको एकता महाधिवेशनका क्रममा पूर्वराजा र निर्मल निवासले आफ्नो राजनीति नै सिध्याउने ढंगले उत्रिएको आरोप लगाएका छन् ।
अध्यक्ष थापाले भनेका छन्, ‘२०६२–०६३ सालको राजनीतिक परिवर्तनपछि जब सिङ्गो देश गणतन्त्रमय भएको थियो । त्यस अवस्थामा ज्यान हत्केलामा राखेर मैले राजसंस्थाको एजेण्डा बोकेर हिँडे । त्यसको पुरस्कार स्वरूप राप्रपाको एकता महाधिवेशनमा मेरो राजनीतिक जीवनलाई सदैव समाप्त पार्ने गरी निर्मल निवासले नाङ्गो हस्तक्षेप ग¥यो । आखिर निर्मल निवासले मविरुद्ध यति कठोर कदम किन चाल्यो ? कुनै दिन मौका पाएँ भने राजालाई यसबारे अवश्य सोध्नेछु ।’
उनले १५ वर्षको राजनीतिक अभ्यासका क्रममा राजनीतिक दल र जनतासँग सम्बन्ध सुधार तथा विश्वास जित्ने बारेमा निर्मल निवासबाट कुनै सकारात्मक काम हुन नसकेको समेत बताएका छन् ।
मैले राजसंस्था किन छोडेँ? pic.twitter.com/hq0mUFK8AP
— Kamal Thapa (@KTnepal) March 24, 2022











