काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र शेखर कोइरालाबीच ‘वान टु वान’ भेटवार्ता भएको छ । १४औं महाधिवेशनमा दोस्रो चरणसम्म प्रतिष्पर्धा गरेका सभापतिका प्रत्यासीबीच चार महिनापछि भेटवार्ता भएको हो ।

भेटमा नेपाल विद्यार्थी संघ र तरुण दलको नेतृत्व विना सहमति ल्याउँदा पार्टीमा बढेको असन्तुष्टि व्यवस्थापनका विषयमा छलफल भएको हो । कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले भने, ‘भेटमा डा. सावले भातृ संस्थाको नेतृत्व एकलौटी नियुक्ति गर्दा साथीहरू असन्तुष्ट हुनुभयो । समानान्तर समिति बनाउन दबाब दिंदै हुनुहुन्छ के गरौं ? भन्दै प्रश्न गर्नु भयो ।’
कोइरालाले त्यसोभन्दा देउवाले आफू मिलाएर लैजाने पक्षमै रहेको भन्दै त्यस्ता गतिविधि रोक्न आग्रह गरेका थिए । ‘जवाफमा सभापति देउवाले आफूले मिलाएर अघि बढ्ने बताउनु भएको छ’, थपलियाले भने ।
नेविसंघ र तरुण दलको नेतृत्वका विषयमा व्यापक असन्तुष्टि आएपछि देउवाले शेखरलाई बालुवाटार बोलाएर कुराकानी गरेका हुन् । यसअघि शेखरले पटक-पटक समय माग्दा सभापति देउवाले भेट नदिएको गुनासो गरेका थिए ।














