दमक । मनाङ मस्र्याङ्दी दमक गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो क्वाटरफाइनल खेलमा बागमती युवा क्लबलाई ४-२ गोलअन्तरले पराजित गर्दै मनाङले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

मनाङको जितका लागि अफिज ओलावलेले दुई गोल, रुपेश केसीले एक गोल गरे । एक गोल भने मनाङले उपहार पाएको थियो । बागमतीका लागि विमल घिसिङ र जोमाउलले गोल गरेपनि हार टर्न सकेन ।
खेलको १४औँ मिनेटमा ओलावलेले गोल गर्दै मनाङलाई अग्रता दिलाएका थिए । तर, मनाङको अग्रतालाई बागमतीले धेरै समय कायम रहने दिएन । खेलको२७ औँ मिनेटमा बागमतीका विमल घिसिङले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए ।
५३औँ मिनेटमा जमाउलले गोल गर्दै बागमतीलाई अग्रता दिलाए । बागमतीको उक्त अग्रता पनि धेरैबेर टिक्न सकेन । ६७औँ मिनेटमा बागमतीले आत्मघाती गोल गरेपछि खेल २-२ को बराबरी भयो । बल क्लियर गर्ने क्रममा बागमतीका सिलोमार्टिनले आत्मघाती गोल गरेका थिए ।

खेलको ७०औँ मिनेटमा मनाङका कप्तान विमल रानाको पासमा ओलावलेले गोल गर्दै मनाङलाई ३-२ ले अघि बढाए । ८१औँ मिनेटमा रुपेश केसीले गोल गर्दै मनाङलाई जित दिलाए ।
खेलको म्यान अफ दि म्याच विजेता टिमका अफिज ओलावले घोषित भए । उनले नगद दश हजार रुपैयाँ पाए ।
शनिबारको दोस्रो क्वाटरफाइनल खेल गोर्खा ब्वाइज र पुलिस क्लब भारतबीच हुने आयोजक समितिका खेल संयोजक मोहन मगरले जानकारी दिए ।











