Logo
Logo

दुई एसपी र एक डिएसपीको जागिर धरापमा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ४ असार ।
अनुसन्धानमा चलखेल गरेर लाखौं कमाउने नेपाल प्रहरीका अधिकारीहरुको धन्दा बाहिर आउन थालेको छ । नक्कली अभियुक्त खडा गरी बास्तविक अभियुक्तलाई उन्मुक्ति दिने दुई एसपी र एक डिएसपीको जागिर संकटमा परेको छ ।
सवारी ज्यान मुद्दामै जालझेल गरेको आरोपमा एक इन्सपेक्टर पक्राउ परिसकेका छन् भने दुई एसपी र एक डिएसपीमाथि छानबिन सुरु भएको छ । इलाका प्रहरी कार्यालय गैंडाकोटका इन्स्पेक्टर लोकराज जिसी अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हिरासतमा छन् । १० लाख रुपैयाँ घुस लिएर नक्कली चालक खडा गरी मुद्दा चलाएको पुष्टि भएपछि अख्तियारले उनलाई २१ जेठमा पक्राउ गरेको हो । पूर्वी नवलपरासीका तत्कालिन एसपी रमेश थापासँग मिलेर उनले नक्कली अभियुक्त खडा गरेको खुलेको हो । थापाको हालै प्रहरी प्रधान कार्यालयमा सरुवा भएको छ ।

एसपी मुकुन्द मरासनी, रमेश थापा र डिएसपी भिमलाल भट्टराई

 

११ वैशाखमा गैंडाकोटमा भएको दुर्घटनामा उनले वास्तविक दोषीलाई उन्मुक्ति दिएका थिए । चितवनका व्यवसायी बोधराज पाण्डेले चलाएको जिपले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु भएको थियो भने अर्को एक गम्भीर घाइते भएका थिए । चालक पाण्डेलाई जोगाउन त्यतिवेला किसुन चौधरीले गाडी चलाएको नक्कली मुचुल्का बनाएर मुद्दा चलाइएको थियो । यसबापत जिसीले १० लाख घुस लिएको उजुरी अख्तियारमा परेको थियो ।

‘प्रारम्भिक अनुसन्धानमै नक्कली चालक खडा गरेको पुष्टि भएपछि पक्राउ गरेका हौँ,’ अख्तियारका एक अधिकारी भन्छन्, ‘यसमा अन्य प्रहरीको समेत संलग्नता खोजी गरिरहेका छौँ ।’ स्रोतका अनुसार जिल्लाका तत्कालीन एसपी रमेश थापाको समेत मिलेमतोमा त्यसरी नक्कली चालक खडा गरी मुद्दा चलाइएको आधार भेटिएको छ ।
इन्स्पेक्टरसँगै व्यवसायी पाण्डे र नक्कली चालक चौधरीलाई समेत अख्तियारले नियन्त्रणमा लिएको छ । अन्य प्रहरीको संलग्नताबारे अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ । दुर्घटनाको मुचुल्कादेखि अभियोजनसम्मको चलखेलमा धेरै प्रहरी संलग्न रहेको स्रोत बताउँछ । दुर्घटनाकै दिन इलाका प्रहरी कार्यालयले चालक बोधराज पाण्डेलाई पक्राउ गरिएको रिपोर्टिङ बेलुका जिल्ला प्रहरी कार्यालय नवलपरासी(पूर्व)मा गरेको थियो । तर, तीन सातापछि भने किसुन चौधरीविरुद्ध मुद्दा दायर भएको थियो ।

दुर्घटनाका दोषी व्यवसायी पाण्डेका भाइ शालिकरामले प्रहरीसँग मध्यस्थकर्ताको काम गरेका थिए । उनी हाल फरार छन् । उनले नै नक्कली चालकको नाम इन्स्पेक्टर जिसीलाई एसएमएसमार्फत पठाएका थिए । दुर्घटनाका वेला चालक चौधरी घटनास्थलमा नदेखिएको मोबाइल लोकेसनबाट समेत प्रस्ट भएको छ । इन्स्पेक्टरलगायत प्रहरीले आर्थिक लेनदेन गरेको प्रमाणको खोजीमा अख्तियार लागेको छ । नियोजित रूपमा वास्तविक अभियुक्तलाई जोगाउने प्रयास गरेकाले इन्स्पेक्टरलगायत प्रहरीविरुद्ध फौजदारी कसुरसमेत लाग्ने भएको छ ।
एसपी र डिएसपी पनि छानबिनमा
विगतमा यसरी धेरै प्रहरीले लाखौं कमाएका थिए ।
१७ चैत ०७३ मा तिलोत्तमा नगरपालिका–७ मा दुर्घटना भएको थियो । लु.७प ७८६४ नम्बरको मोटरसाइकलको ठक्करबाट गुरुप्रसाद आलेको मृत्यु भएको थियो । मोटरसाइकलचालक दुर्गा केसी थिए । चालक केसीको सवारीचालक अनुमतिपत्र(लाइसेन्स) थिएन । लाइसेन्स नभई सवारी चलाएर दुर्घटना गराउँदा कडा सजाय हुने प्रावधान छ । त्यसकारण नक्कली चालकको रूपमा मिथुन भण्डारीलाई खडा गरेर उनीविरुद्ध मुद्दा चलाइएको थियो ।

घटनाको उजुरी परेपछि प्रहरीबाट आन्तरिक छानबिन भएको थियो । छानबिनमा नक्कली चालक खडा गरिएको पुष्टि भएको थियो । इप्रका बुटवलका तत्कालीन डिएसपी मुुकुन्द मरासिनी, इन्स्पेक्टर भीमलाल भट्टराई र मुद्दा शाखाका प्रहरीलाई कारबाहीको सिफारिस भएको थियो । तर, उनीहरूलाई प्रहरी नेतृत्वले कारबाही गरेन । कारबाहीको फाइल लुकाएर बरु उनलाई विभूषण दिइएको थियो । हाल एसपी भएका मरासिनी सिन्धुपाल्चोकको प्रहरी प्रमुख छन् भने भट्टराई डिएसपी भएर इप्रका बुटवलमै पुगेका छन् । बुटवलमा बस्दा विगतको सेटिङ भइसकेकाले सोर्सफोर्स लगाएर उनी त्यहाँ पुगेका हुन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयले बनाएको दुर्घटनास्थलको मुचुल्का र मुद्दा दायर गर्दाको विवरण नै फरक परेको थियो । आर्थिक चलखेलका आधारमा चालक नै परिवर्तन गरिएको थियो ।
स्रोतका अनुसार यो घटनाको पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ । छानबिन रोक्नका लागि एसपी मरासिनी र डिएसपी भट्टराई शक्तिकेन्द्र धाउन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्