Logo
Logo

एटिएमबाट पैसा झिकेजस्तै सेनेटरी प्याड


- दृष्टि न्युज/संवाददाता


स्याङ्जा, ४ असार । फेदीखोला गाउँपालिकास्थित सिद्धार्थ माध्यमिक विद्यालयमा एटिएमबाट पैसा झिकेजस्तै गरी सेनेटरी प्याड झिक्न सकिन्छ ।
विद्यालयका छात्राले आफूलाई आवश्यकता परेका समयमा विद्यालयमा जडान गरिएको सेनेटरी प्याड मेशिनमा एटिएमबाट कार्ड छिराएर पैसा झिके जसैगरी स्मार्ट कार्ड छिराएर प्याड निकालेर प्रयोग गर्न पाएपछि छात्रामा खुशीयाली छाएको छ ।
कक्षा १० की अंकिता खड्काले विद्यालयमा भेन्डिङ मेशिन राखेपछि धेरै सहज भएको बताइन् । उनले भनिन्, ‘मेशिन हुनुभन्दा पहिले कक्षाकोठामा पढ्दापढ्दै रजस्वला भएमा पढाइ नै छाडेर घर जानुपर्ने बाध्यता थियो । अहिले त्यो समस्या छैन ।’ सोही विद्यालयकी कक्षा ९ की प्रतीक्षा शर्माले रजस्वला हँुदा विद्यालयमा डराइडराइ आउनुपर्ने र बिदा मागेर कक्षा बीचमै छाडेर घर जानुपर्ने बाध्यता मेशिन आएपछि अन्त्य भएको बताइन् ।
विद्यालयकी शिक्षिका जमुना काफ्लेले मेशिन प्रयोगमा आएसँगै छात्राको सिकाइमा धेरै सहजता पाइएको अनुभव सुनाउनुभयो । पहिले पहिले छात्राले लुकाउने गरेका कुरा यन्त्रको प्रयोगसँगै खुलेर राख्न थालिएको र यसले नतिजामा समेत राम्रो प्रभाव पारेकोे शिक्षिकाको भनाइ थियो ।
कक्षा ६ देखि माथिका छात्रालाई लक्ष्य गरी गाउँपालिका र पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनाको संयुक्त सहकार्यमा रु ८८ हजारको लागतमा महिनावारी स्वच्छता व्यवस्थापनका लागि विद्यालयलाई भेन्डिङ मेशिन उपलब्ध गराइएको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले बताए । रासस

प्रतिक्रिया दिनुहोस्