Logo
Logo

चीनको प्रमुख चासो सुरक्षा


2.4k
Shares

काठमाडौं । उत्तरी छिमेकी मुलुक चीनले नेपाली भूभाग प्रयोग भएर चीन विरोधी गतिविधि हुनसक्ने भन्दै चासो व्यक्त गरेको छ । नेपाल भ्रमणमा आएका चिनियाँ विदेशमन्त्री वाङ यीले उच्चस्तरीय भेटघाटमा नेपाली भूमि तिब्बतसहित चीन विरोधी गतिविधिमा प्रयोग हुनसक्ने भन्दै सुरक्षा चासो व्यक्त गरेका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेट गर्दै नेपाल भ्रमणमा रहेका चिनको राज्यपरिषदका सदस्य एवम विदेशमन्त्री वाङ यी । तस्बिर : रत्न श्रेष्ठ/रासस

नेपालमा बेलाबेलामा हुने तिब्बत विरोधी गतिविधिबाट सशंकित चीनले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) संसद्बाट अनुमोदन भएसँगै थप सुरक्षा चासो व्यक्त गरेको हो । एमसिसीलाई हिन्द प्रशान्त रणनीतिको अंगका रूपमा बुझेको चीनले त्यसको कार्यान्वयन हुँदा आफ्नो सुरक्षामा खतरा हुन सक्ने आकलन गर्दै आएको छ ।
विदेशमन्त्री वाङको आकस्मिक नेपाल भ्रमणका क्रममा भएका भेटवार्तामा उनले यही कुरालाई प्राथमिकताका साथ उठाएका हुन् ।

‘चीन नेपालको सम्प्रभुता, स्वतन्त्रता र आन्तरिक मामिलामा हस्तक्षेप तथा नेपालमा भूराजनीतिक खेलका प्रयासको विरोध गर्छ,’ चिनियाँ विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा छ, ‘चीन नेपाल मामिलामा नेपाली जनता आफैंले निर्णय गर्नुपर्छ भन्ने कुरामा विश्वास गर्छ।’ चीनले नेपालको स्वतन्त्र आन्तरिक विदेशनीतिको समर्थन गर्ने, चीनको नजरमा साना वा ठूला मुलुक समान भएको तथा उनीहरू सबैको सम्प्रभुता, स्वतन्त्रता र भौगोलिक अखण्डताको सम्मान गर्ने विज्ञप्तिमा उल्लेख छ। ‘नेपाल चीन र दक्षिण एसियाबीचको सहयोगको राम्रो उदाहरण बन्नुपर्छ,’ विज्ञप्तिमा छ।

चिनियाँ विदेशमन्त्री वाङले आइतबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको भेटमा पनि क्षेत्रीय र अन्तर्राष्ट्रिय राजनीति तथा एमसिसी कार्यान्वयनपछिको अवस्था र हिन्द प्रशान्त रणनीतिको प्रभावबारे जिज्ञासा राखेको दाहाल निकट एक नेताले बताए । दाहालसँग वाङले बिआरआईलगायत चिनियाँ परियोजनाको प्रभावकारी कार्यान्वयनका विषयमा चासो राखेको जानकारी भेटमा सहभागी नेता शक्ति बस्नेतले दिए ।

आजको नागरिक दैनिकले लेखेको छ, दाहालले आफ्नो पार्टी एक चीन नीति र नेपालको भूमि चीन विरोधी गतिविधिमा प्रयोग हुन नदिने सरकारको नीतिप्रति प्रतिबद्ध रहेको बताएका थिए । यसअघि २०७६ भदौमा तीनदिने नेपाल भ्रमणमा आएका विदेशमन्त्री वाङले दाहालसँग हिन्द प्रशान्त रणनीतिका बारेमा चासो राखेका थिए । त्यतिबेला पनि दाहालले नेपालले चीनको सुरक्षा चासो र विकासमा अवरोध सिर्जना गर्ने कुनै पनि परियोजना स्वीकार नगर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्