Logo
Logo

शुद्ध पानी सबै नागरिकले पाउनुपर्छः मन्त्री चौधरी


945
Shares

भक्तपुर । खानेपानी मन्त्री उमाकान्त चौधरीले सबै नेपाली नागरिकले शुद्ध र स्वच्छ पानी सर्वसुलभ ढंगले पाउनुपर्ने बताएका छन् ।

भक्तपुर क्यान्सर अस्पताल परिसरमा निर्माण भएको ‘वाटर एटिएम’को हिजो उद्घाटन गर्दै उनले जलस्रोतको धनी देश नेपालका हरेक नागरिकलाई शुद्ध र स्वच्छ खानेपानी पुर्याउन सरकारले कार्ययोजना बनाएर अघि बढिरहेको बताए । मन्त्री चौधरीले अस्पताल जस्तो संवेदनशिल क्षेत्रमा बिरामी र बिरामीका कुरुवालाई वाटर एटिएमको निर्माणले ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्दैै अन्य अस्पताल तथा स्वास्थ्य संस्था, सार्वजनिक स्थल, भिडभाड हुने स्थान र उद्यान तथा पार्कमा पनि वाटर एटिएम जडानको अभियानलाई अघि बढाइने बताए ।

काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले १० लाख रुपैयाँको लागतमा अस्पताल परिसरमा जडान गरेको सो वाटर एटिएमबाट उपभोक्ताले परीक्षणबाट शुद्ध प्रमाणित भएको पानी दुई रुपैयाँमा कागजको कपसहित २ सय मिलिलिटर पाउँछन् । बोर्डका वरिष्ठ प्रशासकीय अधिकृत उदय केसीले उपभोक्ताका लागि चौबिसै घण्टा शुद्ध खानेपानी वितरणको व्यवस्था गरिएको बताए । उनले पाँच रुपैयाँमा बजारमा बिक्री वितरण भइरहेको मिनरल वाटर जत्तिकै शुद्ध एक लिटर पानी आफ्नै बोतलमा भरेर लिन सकिने बताए ।

वाटर एटिएम उद्घाटन समारोहमा मन्त्री चौधरीले अन्य अस्पताल र तराईका जिल्लाहरुमासमेत यस्तो प्रविधि जडान गर्न बोर्डलाई आग्रह गरे । उनले सो अवसरमा वाटर एटिएमबाट पानी थापेर पिएका थिए । बोर्डका कार्यकारी निर्देशक सञ्जिवविक्रम राणाले बोर्डले स्थापना गरेको वाटर एटिएमबाट उपभोक्तालाई शुद्ध खानेपानी चौबिसै घण्टा वितरण गरिरहेको भन्दै आगामी दिनमा सर्वसाधरणको भिडभाड हुने सार्वजनिकस्थलमा यसको सेवा विस्तार गर्दै लैजाने बताए ।

प्रतिक्रिया दिनुहोस्