
काठमाडौं । घरेलु मैदानमा दुवै एक दिवसीय खेलमा पराजय व्यहोरेको नेपालले आज फरक फर्म्याटमा फरक नतिजाको अपेक्षासहित त्रिदेशीय टी–२० श्रृंखलाको पहिलो खेल पपुवा न्यूगिनी (पीएनजी)सँग खेल्दैछ ।
नेपालले घरेलु खेल मैदानमा पीएनजीविरुद्धको दुवै खेलमा पराजित बनेपछि पहिलो द्विपक्षीय एक दिवसीय अन्तर्राष्ट्रिय शृङखला गुमाएको छ । अहिलेसम्म चार वटा एक दिवसीय अन्तर्राष्ट्रिय शृङखला खेल्दा नेपालले पहिलो पटक शृङखला गुमाएको हो । यसअघि नेदरल्याण्ड्ससँग खेलेको ऐतिहासिक शृङखला बराबरी गरेको नेपालले यूएई र पीएनजीविरुद्धकै एक दिवसीय शृङखला जितेको थियो ।
टी–२० शृङखलामा नेपाल र पीएनजीसहित मलेसियासमेत सहभागी छ । तीन टीमबीच एक आपसमा दुई÷दुई खेल हुनेछ र शीर्ष दुई टीमबीच फाइनल खेल हुँदैछ । यो खेलमा नेपाली टीममा युवा खेलाडीहरूको वर्चश्व छ । २१ वर्षीय सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाली टीममा सबैभन्दा सिनियर खेलाडीका रुपमा सोमपाल कामी र करण केसीले खेल्ने भएका छन् ।











