
काठमाडौं । उदयपुरमा हिजो दिउँसो भएको आगलागीमा परेर एक जनाको मृत्यु भएको छ भने सात वटा घर जलेर पूर्णरुपमा नष्ट भएका छन् ।
उदयपुरगढी गाउँपालिका–१ स्थित शिखरपुरमा आगलागी हुँदा सोही ठाउँकी ६८ वर्षीया शिवमाया मगरको घटनास्थलमै मृत्यु भएको हो । उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवका अनुसार विद्युत् सर्ट भएर आगो लागेको हुनसक्ने पूर्वानुमान गरिएको छ । आगलागीबाट भैरवबहादुर ग्राङ्जामगर, पदमबहादुर ग्राङ्जामगर, यम्बरबहादुर ग्राङ्जामगर, दिपबहादुर ग्राङ्जामगर, धनमाया ग्राङ्जामगर, शेरबहादुर ग्राङ्जामगर र ओमबहादुर ग्राङ्जामगरको घर गोठ पूर्णरूपमा जलेर नष्ट भएका हुन् ।
हिजो बेलुका आगो नियन्त्रणमा आएको र पीडित परिवारलाई राहत वितरणको तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिए । स्थानीय ओमबहादुर मगरको घरबाट आगो लाग्न सुरु भएको र घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको उदयपुरगढी गाउँपालिका–१ का वडा अध्यक्ष खेतबहादुर मगरले बताए ।












