Logo
Logo

समानुपातिक समावेशी सिद्धान्त कार्यान्वयनमा जोड


882
Shares

फाइल फोटो

कर्णाली । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश समिति अध्यक्ष विमला केसीले मुलुकको राष्ट्रप्रमुखको हैसियतमा महिलालाई पुर्याउने व्यवस्था माओवादीले ल्याएको दाबी गरेकी छन् ।

माओवादी केन्द्र कर्णाली प्रदेश समितिद्वारा आज आयोजित ‘समाजवादोन्मुख समृद्धिका लागि स्थानीय सरकार निर्माणमा प्राध्यापक, शिक्षक, कर्मचारी र बुद्धिजीवीको भूमिका’ विषयक अन्तक्र्रिया कार्यक्रममा उनले महिला राष्ट्रपति माओवादी क्रान्तिको उपलब्धि हो भनिन् । समाजमा हेपिएको, दमन, शोषणमा परेको जाति, लिङ्ग, वर्ग र क्षेत्रलाई माओवादीको १० वर्षको सशस्त्र युद्धले राज्यको बागडोर सम्हाल्ने तहमा पुर्याएको उनले दाबी गरिन् ।

“हिजो एकल महिलाले समाजमा सजिलै जिउन सक्ने अवस्था थिएन तर, त्यही समाजको महिला आज यो देशकै सर्वोच्च पदमा रहेर राष्ट्रप्रमुखको भूमिका निर्वाह गरिरहनुभएको छ”, अध्यक्ष केसीले भनिन्, “यो व्यवस्था ल्याउन कसले अगुवाइ गर्यो ? माओवादी पार्टीले होइन ? पितृसत्ता ढाल्नेदेखि जातीय, सामाजिक र लैङ्गिक विभेद अन्त्य गरी सामाजिक न्यायसहितको समतामूलक समाज निर्माण गर्ने भूमिका माओवादीले खेलेको होइन र ? देशलाई आफ्नो काबुमा राखेका प्रतिगमनकारी शक्तिले यो देखि सहेका छैनन् तिनलाई परास्त जनताले आफ्नो मतबाट गर्नुपर्दछ ।”

उनले अभिव्यक्ति स्वतन्त्रता दिलाउनेदेखि महिलालाई ३३ प्रतिशत अधिकारको सुनिश्चितता, दलित, आदिवासी जनजाति, उत्पीडित, सीमान्तकृत र अल्पसंख्यकलाई राज्यको मूलप्रवाह ल्याउन माओवादी उनीहरुको आधार र आवाज बनेको दाबी गरिन् । उनले समानुपातिक समावेशी सिद्धान्त र नीतिले आज राज्यका हरेक नीतिगत तह तथा निर्णायक भूमिकामा सबै जाति, क्षेत्र र लिङ्गको प्रतिनिधित्व गर्ने लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था स्थापना हुनु माओवादी युद्धको उपलब्धि र सफलता दुवै भएको जिकिर गरिन् ।

कार्यक्रममा केन्द्रका प्रदेश समिति सचिव धनजीत शाहीले माओवादी क्रान्तिबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्नु अहिलेको मुख्य अभिभारा भएको बताए । अन्तक्र्रियामा प्राध्यापक, शिक्षक, विभिन्न क्षेत्रमा कार्यरत कर्मचारी र बुद्धिजीवीको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्