
बुटवल । बुटवल अटो भिलेज मैनाबगरमा खानेपानी ओभरहेड ट्याङ्की शिलान्यास गरिएको छ ।
खानेपानी तथा सरसफाई उपभोक्ता समिति र बुटवल अटो इन्जिनियिरङ एशोसिएशनको आयोजनामा भएको कार्यक्रममा लुम्बिनी प्रदेश राष्ट्रिय योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्रीले मैनाबगरको अटो भिलेजलाई नमुना बनाउन जोड दिने बताए ।
उनले अटो व्यवसायीलाई स्वामित्व हस्तान्तरण गरेर अगाडि बढ्न सके मात्र व्यवसायीले अपनत्व महसुस गरेर सो क्षेत्रको विकासमा जोड दिने बताए । उक्त क्षेत्रमा निर्माण हुन लागेको कोरिडरबारे अटो क्षेत्र प्रभावित नहुनेगरी विकल्पबारे छलफल गर्न जरुरी रहेको पनि उपाध्यक्ष क्षेत्रीले बताए ।
प्रदेश सरकार, नगरपालिकालगायतको सहयोगमा निर्माण सुरू भएको सोे आयोजनाको लागत करिब ९ करोड रुपैयाँ रहेको छ । कार्यक्रममा बुटवल अटो इन्जिनियरिङ एशोसिएशनका अध्यक्ष तुलसीराम न्यौपानेले उक्त खानेपानी आयोजना सम्पन्न भएपछि मैनाबगर अटो भिलेज र त्यस आसपासका करिब एक हजार घर परिवार लाभान्वित हुने जानकारी दिए । उनले मैनाबर अटो भिलेजको विकासमा सबैको सहकार्य आवश्यक रहेकोमा जोड दिए ।
भुतपूर्व अध्यक्ष ज्योति भण्डारीले उक्त क्षेत्रको खानेपानी, सडक, ढल, नालीलगायतको विकासमा विगतदेखि नै पहल गर्दै आइएको बताए । सो कार्यक्रमको सञ्चालन संस्थाका महासचिव ध्रुव भुसालले गरेका थिए ।














