Logo
Logo

प्रदेश सरकार शान्ति सुरक्षामा गम्भीर छः केदार कार्की


630
Shares

झापा । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको नवनिर्मित भवन उद्घाटन गरिएको छ । विर्तामोडमा हिजो आयोजित एक समारोहकाबीच प्रदेश नं १ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले सो भवनको उद्घाटन गरेका हुन् ।

त्यसक्रममा उनले प्रदेश सरकार शान्ति सुरक्षाको विषयमा गम्भीर भएर लागिरहेको बताए । सवारीसँगै घुलमिल हुनेले बढी दुर्घटना गराउने गरेको बताउँदै मन्त्री कार्कीले सुविधायुक्त गन्तव्यमा पुर्याउनका लागि जोखिम मोलेरै भए पनि ट्राफिक प्रहरीले काम गर्ने गरेको बताए । नागरिकलाई सुरक्षा दिनका लागि खट्ने सुरक्षाकर्मीलाई सुरक्षा दिएमा सुरक्षाकर्मीले नागरिकको सुरक्षा गर्न सहज हुने उनले बताए । सरकारले प्रहरीलाई सुरक्षा दिनकै लागि भवनहरूको स्तरोन्नति तथा निर्माण गरेको बताउँदै उनले भवनको उचित व्यवस्थापन गर्न निर्देशन दिए ।

प्रदेश सरकारले मेची पुलदेखि कोसी पुलसम्म तथा जोगवनीदेखि धरानसम्म सिसी क्यामेरा जडान गर्ने प्रक्रिया सुरु गरेको बताउँदै मन्त्री कार्कीले सिसी क्यामेराले मानिसलाई अनुशासित बनाउने र दुर्घटनामा कमी आउने बताए । दुर्घटना न्यूनीकरणमा सबैको भूमिका महत्वपूर्ण हुने उनको भनाइ छ । सो अवसरमा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव कालीप्रसाद पराजुली, प्रदेश नं १ प्रहरी कार्यालयका प्रमुख अरुणकुमार बिसी, प्रदेश नं १ ट्राफिक प्रहरी कार्यालयका प्रमुख वासुदेव खतिवडालगायत सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता थियो ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयको एक करोड ८८ लाख ८५ हजार ५ सय ७७ रुपैयाँ ९८ पैसाको लागतमा सो भवन निर्माण भएको हो । उक्त भवन निर्माणमा सहयोग गर्नेहरुलाई कार्यक्रममा सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्