Logo

एनआरएनए : गर्विलो इतिहास, लाजमर्दो वर्तमान



अन्ततः गैरआवासीय नेपाली संघ विभाजित भएरै छाड्यो । दुई फग्ल्याटा नै भएको त भन्न मिल्दैन तर सानो भए पनि विभाजनचाँहि भएकै हो । यस्तो होला भनेर चोइटिनेले पनि ठानेका थिएनन्, नचोइट्याउनेले पनि । जे भयो, सबै नसोचेकै भयो, अझ भनौं ख्यालख्यालमै यो सबै भयो ।

खासमा सुरूमा चोइटिनेको संख्या ठूलै थियो, उनीहरूले देखाउन विधानको कुरा गरे पनि पदकै लागि घुक्र्याउन खोजेका थिए । उनीहरूको मनसाय बुझेर संस्थापन पक्षले खुद्रामा होइन, थोकमै पदको घाँस हालिदियो । यही बीचमा उनीहरूलाई राजनीतिक पार्टीको पगाहा पनि लाग्यो । त्यसपछि उनीहरू ठूलै जत्थामा मूलधारमै फर्किए ।

राजनीतक पगाहामा भएका फर्किए पनि शेष घले र उनका डाइहार्ट अनुयायी बाँकी नै थिए । घलेलाई भने बद्री केसीलाई अध्यक्ष बन्न दिनुभन्दा बरू एनआरएनए टुक्र्याउनु नै थियो । उनी आफ्नी श्रीमतीलाई अध्यक्ष बनाउन नपाएयता इगोले यति ग्रस्त छन् कि उनलाई सन्निपात नै भइसकेको छ । उनको यही जिद्दीपनले दुर्घटनामा परिन्छ भन्ने मेसो पाएकाहरू बीचैमा फर्किए, नपाएकाहरू नराम्ररी दुर्घटनामा परे ।

यो दुर्घटनामा पर्ने सबै खराब थिएनन्, केही एनआरएनका लागि योगदान दिएका र केही योगदान दिनसक्ने मानिस पनि थिए । दुर्भाग्य नै भन्नुपर्छ, घलेको ब्रेक फेल भएको गाडीमा चढेर उनीहरू नराम्ररी पछारिए । पछारिएकामध्ये केहीले घलेले दिएको पद त पाए तर त्यो मूतको न्यानोभन्दा बढी केही हैन । अहिले नै थाहा भइसक्यो, समयक्रममा छर्लङ्गै हुनेछ ।

संसारभरका एनआरएनले घले र उनका अनुयायीलाई संस्था नै फुटाउने खलपात्रका रूपमा बुझे । उनीहरूको निधारमा कहिलै नमेटिने गरी कलंकको टीका लाग्यो । अब उनीहरू एनआरएन अभियानमा कहिल्यै उठ्नै नसक्ने गरी सीमान्तकृत भए । विचराहरू, केका लागि संस्था फुटाउने गोटी बने, त्यो पनि उनीहरूलाई थाहा पत्तो भएन ।

अब त उनीहरूलाई घले एनआरएनको बात लागिगयो, त्यसैले अहिलेका लागि उनीहरूसँग घलेको निर्देशन पछ्याउनुको विकल्प पनि छैन । त्यसैले पनि श्वास रहुन्जेल आश भनेझै अहिले उनीहरू आफू नै आधिकारिक हौं भन्ने दाबी लिएर प्राधिकार संस्था परराष्ट्र मन्त्रालय पुगेका छन् । तर, उनीहरूलाई पनि थाहा छ कि आफ्नो पक्षले आधिकारिकता पाउने सम्भावना तिलको दाना जति पनि छैन ।

किनकि, मुलुकको राष्ट्रपति र प्रधानमन्त्री नै सहभागी भएको पक्षलाई मान्यता नदिएर अर्को पक्षलाई त्यही पद्धतिको परराष्ट्र मन्त्रालयले मान्यता दिने कुरै हुँदैन । जो कोहीले पनि सजिलै अनुमान लगाउन सक्ने कुरा यही हो ।

घले एनआरएनएले धेरै गर्न सक्ने भनेको अदालतमा मुद्दा हाल्ने हो । तर, अदालतले विश्व सम्मेलन र निर्वाचन फुकुवा नगरेकै बेला गरेको यो समूहको निर्वाचनले अदालतमा पनि कुनै रङ्ग ल्याउन सक्ने ठाउँ छैन । संस्थापन पक्षले भने अदालतले निर्वाचन रोक्न अन्तरिम आदेश नदिएको बेला निर्वाचन गरेर त्यो तगारो पनि पार गर्यो । जतिबेला निर्वाचन भयो, त्यतिबेला अन्तरिम आदेश दिन नपर्ने भनेर अदालत बोलिसकेको थियो ।

भनिन्छ नि– कानुनका नौ सिङ हुन्छन् । मुद्दा लड्ने केही सिङ त घलेका महंगा वकिलले निकाल्लान् । मुद्दा पनि हाल्लान् । अझ बेञ्च सपिङ गर्न यति पैसा चाहिन्छ भनेर भन्लान् । घलेको इगोको नाडी छामेका उनीहरूले राम्ररी नै अष्ट्रेलियन डलर झार्न सक्लान् । तर, जति नै गरे पनि घलेको त्यो प्रयत्न सफल हुने छाँट देखिँदैन । ढिलोचाँडोको कुरा मात्र हो, प्रकारान्तरमा घले एनआरएनको इतिहासमा एक खतरनाक खलपात्र अर्थात् ‘गब्बरसिङ’ सावित हुनेछन् । उनलाई इतिहासले एक हठी, सन्की र दुस्साहसी भूतपूर्व अध्यक्ष जसले आफ्नो इगो शान्त गर्न संस्था नै चोइटाए भनेर सम्झनेछ ।

यसपटक विश्व सम्मेलनको नाममा भएको हर्कतका कारण घले त स्खलित भए नै, मूलधार भनिने पक्ष पनि एनआरएको इतिहासमै सबैभन्दा बढी लज्जित भयो । एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महतोले त परदेशमा रहेका नेपालीलाई सबै कुरा छोडेर एनआरएनमा नलाग्न सार्वजनिकरूपमा आग्रह नै गरे । उनले १० औंला जोडेर आफूलाई पापको भारी नबोकाउन गरेको अनुरोध जो कोही एनआरएनका लागि पनि पीडादायी क्षण थियो ।

वास्तवमा एनआरएन स्थापनाका लागि डा. उपेन्द्र महतोले जति स्रोत, साधन, समय लगाए, त्यसको कुनै हिसाब किताब नै छैन । त्यसरी स्थापना गरेको संस्था यसपटक जुन अवस्थामा पुग्यो, त्यसले दिएको पीडा उनको अनुहारमा सजिलै देख्न सकिन्थ्यो । सम्मेलनको उद्घाटन सत्रमा दिएको उनको मन्तव्य स्तव्ध पार्ने खालको थियो ।

ठूलो दुःख गरेर स्थापना गरेको एनआरएनए फुट्यो पनि, बाँकी रहेको संस्थापन पक्षको गरिमा पनि लिलिपुट भयो । अगुवा एनआरएनहरू पदका लागि यति लिच्चड देखिए कि यस्तो लाग्थ्यो उनीहरू एनआरएन अभियानमा लागेकै पदका लागि हो । यही क्रममा अध्यक्ष तीन, उपाध्यक्ष ११, महासचिव २, उपमहासचिव ५, सचिव १०, कोषाध्यक्ष ३, सहकोषाध्यक्ष ८, महिला सहकोषाध्यक्ष ३ लगायत यति धेरै पद बनाइए कि कुनै पनि पदाधिकारी कम्तीमा पनि दुईजना छन् । यो सबै जोड्दा पदाधिकारी सङख्या नै ७४ पुगेको छ । अझ यसो भनौं, जसले जे माग्यो, त्यही पद सिर्जना गरियो । यतिसम्म कि सदस्यका लागिसमेत योग्य नहुने उपाध्यक्ष भए ।

एक वाक्य शुद्ध लेख्न नसक्ने सचिव भए, डेबिट–क्रेडिटको सामान्य ज्ञान नभएका कोषाध्यक्ष भए । यसअघि पटक–पटक चुनाव हारेकालाई त खुदो नै पल्ट्यो, त्योभन्दा माथिको पद पाए । एउटै देशमा सिंगो कार्यसमिति पुग्ने गरी मात्र होइन, थप पद पनि आए । अमेरिकालाई मात्र हेर्ने हो भने यही सबै पदाधिकारी छन्, महासचिव त एक होइन, दुई छन् ।

यो तस्बिरले के देखायो भने घरदेशमा होस् वा परदेशमा, नेपाली भनेकै पदका लागि जन्मेका प्राणी हुन् । कुनै पनि संस्थामा उनीहरू सहभागी हुने भनेकै पदका लागि हो । अनि पदचाहिँ के का लागि भन्दा कामका लागि होइन, भिजिटिङ कार्डका लागि मात्र हो । इतिहास साक्षी छ, एनआरएनमा पद लिएका धेरैले कार्ड छापेर बाँड्नेभन्दा बढी काम गरेका छैनन् ।

एनआरएनएको यो बिजोग सम्मेलनले यस्तो भाष्य सिर्जना गर्याे कि अब एनआरएन भन्न पनि लाज हुनेछ । अब एनआरएनएको कुनै पदाधिकारी भन्यो भने मानिसहरू उनीहरूको अनुहार हेरेर हाँस्नेछन् । अब हरेक संस्थामा धेरै पदाधिकारी भए भने मानिसहरूले उदाहरण दिँदा कस्तो एनआरएनएजस्तो भन्नेछन् । परदेशमा मात्र होइन, घरदेशमा पनि । प्रकारान्तरमा यसले यस्तो नजीर बसाइदियो कि अब यो संस्थाको गौरवपूर्ण इतिहास बिरलै दोहोरिएला । असम्भव नै नभनौं तर सजिलै शीर उठ्ने सम्भावना देखिँदैन ।

आखिर यसका लागि दोषी को हो ? यसको सबैभन्दा ठूलो खलनायक रूपमा शेष घले देखिए पनि सारमा कुल आचार्य हुन् । उनकै पदलिप्सा र जिद्दीपनका कारण एनआरएनएमा ‘कांग्रेस’ पस्यो र प्रकारान्तरमा यो परिणाम आयो । आचार्यलाई उचाल्ने सबैभन्दा ठूलो खलसंस्था एनआरएनए अमेरिका हो । अमेरिकामा विभिन्न गुटमा बाँडिएका कांग्रेसीहरूले संस्थापन पक्षसँग प्रतिनिधिको झ्याउला उठाए, जब कांग्रेसले उनीहरूको पुच्छर निमठ्यो, उनीहरूले रोजी छाडी पद पाउने भए, त्यसपछि उनीहरू युटर्न भए र आफूले सपनामा पनि नचिताएका पदहरूको भारी बोकेर मूतको न्यानो तापिरहेका छन् ।

उता, श्रीमतीलाई अध्यक्ष बनाउन नसकेर रन्थनिएका घले भने उचालिएर यति पर घचेटिए कि उनी फर्कनै नसक्ने ठाउँमा पुर्याइए । परिणामतः एनआरएन पनि सग्लो रहेन, मूलधारे एनआरएनएमा पनि यो बहुपदीय गाईजात्रा देखियो ।

तर, पनि एनआरएनए आज जुन अवस्थामा आइपुग्यो, यसको पृष्ठभूमिमा मात्र होइन, अन्तिममा गाँठो पार्ने ठाउँमा शेष घले नै देखिए । अरूले धकेलेर पर पुर्याए पनि उनले संस्था जोगाउनका लागि आफ्नो इगो त्यागेको भए संस्था पनि सग्लो रहन्थ्यो, अहिलेको बहुपदीय गाईजात्रा पनि देखिने थिएन ।

धेरैलाई लाग्ला, एनआरएन पतनको यो सीमा हो । तर, त्यसो होइन, यो त पतनको अर्को चरणको शुरूवात हो । अब यो विन्दुबाट यो गाईजात्रे कार्यसमितिले बाँकी १८ महिनामा योभन्दा विरूप तस्बिर देखाउने सम्भावना नै बढी छ । किनकि, अहिले नेतृत्वमा रहेकामध्ये धेरैलाई संस्थाको माया नै छैन, उनीहरू पदका लागि मात्र त्यो संस्थामा छन् । यो नियतको कुरा हो ।

अर्को कुरा, केहीलाई छोडेर अधिकांश पदाधिकारी त्यो हैसियतकै छैनन् जसले संकटमा परेको एनआरएनएलाई पार लगाउन सक्छन् । यो ल्याकतको कुरा भयो । जब नियत पनि साफ छैन, ल्याकत पनि देखिँदैन र इच्छाशक्तिको पनि कुनै गुञ्जायस हुँदैन, त्यसपछि संस्था सही बाटोमा आउन सक्ने सम्भावना ज्यादै थोरै हुन्छ । अहिलेका लागि यसो भन्न सकिन्छ कि समयले यो संस्थालाई एउटा विकराल प्रश्नचिह्नमुनि ल्याएर उभ्याइदिएको छ ।

जब संस्था यस्तो अवस्थामा छ, स्वभावकि रूपमा अर्को प्रश्न पनि उठ्छ । त्यो के भने, के अब यो संस्थाको औचित्य नै सकिएको हो त ? निश्चित पनि यो संस्थाको आवश्यकता र औचित्य हिजोभन्दा आज अरू बढी छ । नेपालीका लागि नेपालीको मूल मर्म लठिभद्र छ, एकपटकको नेपाली सधैँको नेपाली नागरिकता ऐनमा आएर अड्किएको छ । गैरआवासीय नागरिकताका लागि उचित संशोधन आवश्यक छ । नेपालमा प्रवेश गर्दा भिसा शुल्क नलाग्ने व्यवस्था गर्न अरू पैरवी चाहिएको छ ।

यी सबै गर्न सक्ने एकीकृत एनआरएनए अझै पनि खाँचो छ । संस्थाको नेतृत्वमा रहेका मान्छे खराब हुन सक्छन् तर संसारभरका नेपालीलाई गोलबद्ध गर्न सक्ने संस्था भनेको एनआरएनए नै हो । यसका लागि अहिलेसम्म ठूलो स्रोत, साधन र समय खर्च भैसकेको छ । आधाबाटोमा रहेका तमाम काम सम्पन्न गर्न पनि यो संस्थाको कुनै विकल्प छैन ।

जे जस्तो भए पनि अहिले जुन नेतृत्व चयन भएको छ, यसले एनआरएनए चोइटिए पनि विभाजन हुनबाट रोकेको छ । अहिलेको यो जम्बो नेतृत्वसामु अप्ठ्यारोमा परेको एनआरएनएलाई सही बाटोमा ल्याउने अवसर प्राप्त छ । यसले तत्कालका लागि पाँचवटा काम गर्नुपर्ने हुन्छ ।

पहिलो, अर्काको उक्साहटमा लागेर चोइटिएकालाई आत्मालोचना गर्ने मौका दिनुपर्छ र उनीहरूलाई मूलधारमा समाहित गरेर सग्लो एनआरएनए बनाउनुपर्छ ।

दोस्रो, यो संस्थामा रहेका विखण्डनबादीहरूलाई चुनीचुनी किनारा लगाउनुपर्छ जसले गर्दा यस्ता खराब प्रवृत्तिले कहिल्यै टाउको उठाउन नसकोस् ।

तेस्रो, एनआरएनएको गुमेको शाख र प्रतिष्ठा कायम राख्न सबैले बिगतका गल्तीहरूको प्रायश्चित गरेर अघि बढ्नुपर्छ ।

चौथो, आवश्यक पैरवी गरेर गैरआवासीय नागरिकतालाई व्यवस्थित गर्दै नागरिकता ऐन आउने व्यवस्था गर्नुपर्छ ।

पाँचौँ, अहिलेको एनआरएनएको प्रतिकूल अवस्थालाई ध्यानमा राख्दै तत्काल नेपाल जाँदा भिसा शुल्क नलाग्ने व्यवस्थाका लागि सरकारसँग अनुरोध गरेर त्यसलाई कार्यान्वयनमा ल्याउनुपर्छ । यसो गर्न सकियो भने तत्कालका लागि एनआरएनएको गिर्दो शाखलाई केही मात्रामा भए पनि ब्रेक लगाउन सकिन्छ ।

यी सबै काम गरिएन र फेरि पनि गाइजात्रा मात्रै देखाइरहियो भने एनआरएनएको गरीमा त धुलिसात हुन्छ नै, औचित्य पनि सकिन्छ । कामना गरौं, त्यस्तो स्थिति नआओस् ।

प्रतिक्रिया दिनुहोस्