काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा गठबन्धन गर्ने निर्णय गरेको छ । केन्द्रबाट गठबन्धन गर्दा स्थानीय आवश्यकताको सम्बोधन नहुने भन्दै कांग्रेसले स्थानीय आवश्यकताका आधारमा गठबन्धन गर्ने निर्णय गरेको हो ।
पार्टी केन्द्रीय कार्यसमितिको बैठकले स्थानीय अवस्था र आवश्यकताका आधारमा अन्य दलहरुसँग चुनावी तालमेल गर्ने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।
उनले भने, ‘स्थानीय निर्वाचनमा बहुसंख्यक स्थानीय तहमा नेपाली कांग्रेस विजयी हुने बलियो परिस्थिति र आधार बनेको अवस्थालाई अझै सघन र व्यापक बनाउन स्थानीय अवस्था र आवश्यकताअनुरुप गठबन्धनमा रहेका अन्य दलसँग तालमेल गर्न सक्ने नीतिगत निर्णय यो बैठक गर्दछ, स्थानीय तहको उम्मेदवार चयन गर्न पार्टीको विधानमा उल्लेखित प्रावधान र प्रक्रियाअनुरुप अगाडि बढाइने छ ।’
यस्तै बैठकले उपसभापति पूर्णबहादुर खड्कको संयोजकत्वमा निर्वाचन परिचालन समिति र प्रकाशशरण महतको संयोजकत्वमा निर्वाचन प्रचारप्रसार समिति गठन गरेको छ ।












