काठमाडौं । वसन्तपुरस्थित ऐतिहासिक गद्दी बैठक आजदेखि सर्वसाधारणका लागि खुला गरिएको छ। आज एक कार्यक्रमबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले गद्दी बैठक उद्घाटन गरे।

विसं २०७२ वैशाखको विनाशकारी भूकम्पले क्षति पुर्याएको गद्दी बैठकलाई अमेरिकाको एम्बासडर्स फण्ड फर कल्चरल प्रिजर्भेसनअन्तर्गत मिया मोटो भन्ने कम्पनी र संस्कृति सम्पदा कोष मिलेर जीर्णोद्धार गरिएको हो। योसँगै गद्दी बैठकको तल्लो तलामा रहेका तीनवटा ग्यालरीमा ऐतिहासिक हातहतियार र वृत्तचित्र पनि आजदेखि सर्वसाधारणले अवलोकन गर्न सकिने हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालले जानकारी दिए।
लामो समयपछि खुला भएको उक्त ऐतिहासिक गद्दी बैठक अवलोकनका लागि सर्वसाधारणले अतिरिक्त शुल्क तिर्नुपर्दैन। यसअघि प्रवेश दरबार परिसरमा प्रवेश गर्दा तिर्दै आएको शुल्कले नै बैठकको पनि अवलोकन गर्न सकिने प्रमुख खनालले जानकारी दिए।
भूकम्पपछि गद्दी बैठकको जीर्णोद्धार सम्पन्न गरेर विसं २०७५ असार १३ गते अमेरिकी राजदूतावासले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो। गद्दी बैठकको भुइँ तलामा एकीकरणदेखि गणतन्त्रसम्मको राजनीतिक परिचय दिने विभिन्न किसिमका घटनाक्रम समेटेर प्रदर्शनको व्यवस्था गरिएको छ। उक्त कक्षमा पृथ्वीनारायण शाहले प्रयोग गरेका हातहतियारसमेत प्रदर्शनमा राखिएको छ।












