Logo
Logo

मिल्स गोल्डकपः प्रतिभा एफसी फाइनलमा


630
Shares

विराटनगर । सिरहा गोलबजारको प्रतिभा फुटबल क्लब दोस्रो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।

विराटनगरस्थित जुट मिलको खेलमैदानमा हिजो भएको खेलमा दमक एकेडेमी झापालाई ६–१ गोलको फराकिलो अन्तरले हराउँदै गोलबजार फाइनलमा पुगेको हो । जितका लागि गोलबजारका कुलदेव कार्की, अलमान र सञ्जीव कार्कीले गोल गरे । गोलबजारका विदेशी खेलाडी अलमानले एक्लै तीन गोल गरेका थिए । जितसँगै गोलबजारले भोलि हुने फाइनल खेलमा साइनो स्पोर्टस क्लब रानी विराटनगरसँग प्रतिस्पर्धा गर्नेछ । पहिलो हाफदेखि दबाबमा राखेकोे गोलबजारले खेल सुरु भएको तीन मिनेटमै गोल गरी अग्रता लिएको थियो । खेल सुरु भएको तीन मिनेटमा गोलबजारले फल पाएपछि कुलदेव कार्कीले प्रहार गरेको फ्रि किक गोलमा परिणत भयो ।

गोलबजारले पहिलो गोल गरेको चार मिनेट बित्न नपाउँदै ७ औँ मिनेटमा बिनु आलेले निकालिदिएको बल विदेशी खेलाडी अलमानले हेड गर्दा बलले जाली चुम्यो । पहिलो हाफमा दुई गोल भएपछि दबाबमा परेको झापाले खेलको १३ औँ मिनेटमा राजन धिमालले गोल फर्काए । पहिलो हाफमा थप गरिएको अतिरिक्त समयको अन्तिम मिनेटमा आत्मघाति गोल भएपछि गोलबजारले ३–१ गोलले अग्रता लियो । गोलबजारका सञ्जीव कार्कीले दायाँ कर्नरबाट गरेको प्रहार झापाका डिफेन्डर ओमप्रकाश तामाङले बल रोक्न खोज्दा गोलमा परिणत भयो । दोस्रो हाफदेखि एकपक्षीय खेल पस्किएको गोलबजारले खेलको ५० औँ मिनेटमा सुजित कार्कीले कर्नरबाट निकालिदिएको पास विदेशी खेलाडी अलमानले गोल गरेका थिए ।

खेलको ७३ औँ मिनेटमा नरेश राईले कर्नर साइडबाट निकालिदिएको क्रस पासलाई सञ्जीव कार्की गोल गरेका थिए । खेलको ७८ औँ मिनेटमा गोलबजारका अलमानले गोल गरी टिमको जीत सुनिश्चित गरेका थिए । खेलको ७० औँ मिनेटमा गोलबजारका सञ्जीव कार्कीको कडा प्रहार बाहिरियो । ७७ औँ मिनेटमा झापाका राजन धिमालले गरेको प्रहार पोस माथिबाट बाहिरियो । खेलको ‘म्यान अफ द म्याच’ गोलबजारका तीन गोल गर्ने विदेशी खेलाडी अलमान घोषित भए । उनले नगद पाँच हजार रुपैयाँ प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्