Logo
Logo

षष्टिका बस्नेत पुरस्कारबाट बुढाथोकी र साह सम्मानित


819
Shares

मोरङ । नेपाल पत्रकार महासंघको स्थापना दिवसको उपलक्ष्यमा षष्टिका बस्नेत सूचनाको अधिकार र प्रोत्साहन पुरस्कार–२०७८ यस वर्ष गजेन्द्र बुढाथोकी र देवनाराण साहलाई प्रदान गरिएको छ ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखाबाट प्रदान गरिँदै आएको सूचनाको अधिकार पुरस्कारको राशि रु. ५० हजार ५१ टक्सार म्यागजिनका प्रधान सम्पादक बुढाथोकीलाई र प्रोत्साहन पुरस्कारको राशि रु. १५ हजार ५१ बाट कान्तिपुर दैनिकका जिल्ला संवाददाता साहलाई हिजो साँझ सम्मान गरिएको छ । प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले सम्मानित सञ्चारकर्मीद्वयलाई पुरस्कार प्रदान गर्दै पत्रकारले निष्पक्ष, सत्यतथ्यका आधारमा जनताको पक्षमा समाचार पस्कनुपर्नेमा जोड दिँदै मुलुकको सामाजिक तथा राजनीतिक परिवर्तनको क्षेत्रमा खेलेको भूमिकाको प्रशंसा गरे ।

कार्यक्रममा यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेले पत्रकारको जीविकोपार्जन, पेसाप्रति दक्ष बनाउन प्रदेश सञ्चार व्यवस्थापन विधेयक प्रदेशसभामा पेश गरेको जानकारी दिँदै कानुनको पालनाबाट मुलुकमा सुशासन कायम हुने विचार राखे । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले व्यावसायिक पत्रकारको पेसागत हकहित संरक्षणका लागि तीन तहका सरकारको दायित्व रहेको उल्लेख गर्दै यस पेशाबाट जीवन निर्वाह गर्न समस्या रहेको आफ्नो अनुभव सुनाए । प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले राज्यको काम कारबाहीलाई पारदर्शी बनाउन सबैले आफ्नो क्षेत्रबाट प्रतिबद्धता व्यक्त गर्नुपर्नेमा जोड दिँदै सूचनाको अधिकार व्यवहारमा उतार्न जटिलता रहेको बताए ।

महासंघका मोरङ सभापति सञ्जीव खनाल, उपाध्यक्ष तारा आचार्य, कोषाध्यक्ष अभय राई, महासंघ प्रदेश अध्यक्ष लीलाबल्लभ घिमिरे, पे्रस चौतारीका केन्द्रीय सचिव विक्रम लुइँटेल, प्रेस संगठन नेपालका प्रदेश अध्यक्ष विनोद घिमिरे, यज्ञ शर्मा, कोषका दाता केदारबहादुर बस्नेत र सम्मानित बुढाथोकीले जनताको हकअधिकार संरक्षणका लागि महासंघ अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याए । विराटनगर–११ निवासी बस्नेतले सूचनाको अधिकारका क्षेत्रमा कार्य गर्ने अभियानकर्मी एवं पत्रकारलाई प्रदान गर्न आफ्नी स्व. धर्मपत्नी षष्टिका बस्नेतको नाममा रु. सात लाखको अक्षय कोष स्थापना गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्