Logo
Logo

पोखिएको एकटुक्रा इतिहास



२०३६ सालको आन्दोलन पछि देशमा अलि सजिलोसँग सास फेर्न सक्ने अवस्था आएको थियो । तर दुईवर्ष पनि बित्न नपाउँदै पुनः पञ्चायती शासकहरु नागरिकका अधिकार खोस्न दमनकै बाटोमा फर्किन थाले ।

२०३८ चैत्रमा अनेरास्ववियुको छैठौं राष्ट्रिय सम्मेलनको तयारी हुँदै थियो । पुलचोक क्याम्पसको ठूलो चौरमा मञ्च बन्यो । देशका विभिन्न जिल्लाहरुबाट विद्यार्थी प्रतिनिधि काठमाडौं आउँदै थिए ।

अहिलेजस्तै बेला थियो– चैत महिना, घोडेजात्रा आउने बेला । विद्यार्थी उत्साहित थिए, भव्य योजना र तयारी हुँदै थियो । एक्कासी कार्यक्रम स्थललाई पुलिसले घेराउ गरे र तयार पारेको मञ्च सबै भत्काई दिए भन्ने खबर आयो । विद्यार्थीमात्र होइन भूमिगत पार्टीका नेताहरुको उत्साहमा पनि चीसो पानी खनियो ।

पाँचौं सम्मेलन भव्य रुपमा समापन भएकोले यसपटक अझै धेरै उत्साह बोकेर विद्यार्थी नेता अगाडि बढेका थिए । स्थानीय कार्यकर्ताको पनि सहयोग जुटेको थियो । बाहिरबाट आउने र सम्मेलनमा भाग लिने विद्यार्थीलाई ख्वाउने राख्ने बन्दोबस्त हुँदैथ्यो । सबैकुरा एकैचोटी भत्के पछि काठमाडौं पार्टी जिल्ला कमिटीलाई ठूलो समस्या आइलाग्यो । तुरुन्त नयाँ ठाउँको बन्दोबस्त गर्नु– त्यो पनि प्रशासनको आँखा छलेर । सजिलो थिएन । अहिलेको जस्तो मोबाइल फोनको सुविधा पनि थिएन । पार्टीको आफ्नो कार्यालयस्थल त थिएन नै, पार्टी नेताहरु स्थायी रूपमा बस्न मिल्ने ठाउँ पनि काठमाडौँमा थिएन ।

म कुनै विद्यार्थी कमिटीको जिम्मेवारी बोकेको नेता थिईन । तर पार्टीकै जिल्ला कमिटीमा भएको र काठमाडौंवासी नै भएको कारण अब कसरी बन्दोबस्त गर्ने भन्ने प्रश्न स्वाभाविक रूपमा मतिर तेर्सियो । समय धेरै थिएन । हतार भैसको थियो । कम्तीमा सयजना विद्यार्थी प्रतिनिधिको एकै ठाउँमा भूमिगत रुपमा जम्मा हुने ठाउँ तुरुन्तै खोज्नु भनेको सहज र सामान्य काम थिएन ।

३६ सालको आन्दोलनमा म मजदुरकै आवरणमा बालाजू औद्योगिक क्षेत्रमा संगठक भएर पसेकी थिएँ । २०३७ मा मजदुर आन्दोलनमाथि भएको दमनपछि धेरै समय बितेको थिएन । गम्भीर सुरक्षा चुनौति पछि म भूमिगत हुनुपरेको थियो । यतिबेला पनि अर्ध भूमिगत रुपमा आफ्ना जिम्मेवारी पुरा गर्दैथिएँ । तर मजदूर मित्रहरुसँगको मेरो भावनात्मक सम्बन्ध गहिरो थियो र उनिहरुसँग प्रत्यक्ष सम्बन्ध कायमै थियो ।

त्योबेला मेरो स्वास्थ्य अवस्था पनि सामान्य थिएन । म दुई जीउकी थिएँ– पेटमा ४ महिनाको बच्चा थियो । धन्न मनोबल बलियै जस्तो थियो । जीवन मरणको सवाललाई जितेर राजनीतिमा हामफालिसकेको त्यो अवस्थामा पार्टीले दिएका कामहरु जस्तै खतरनाक र गह्रौँ भए पनि ‘सक्दिनँ’ भन्ने कुरा आउँदैन थियो । पूरै जिम्मा लिनसक्ने स्थानीय नेता पनि थिएनन् । समय एक दिन मात्र बाँकि थियो । एउटै घरमा डेरा लिएर बसेका त्यसबेलाका विद्यार्थी नेता सुरेन्द्र पाण्डेलाई साथ लिएर बालाजु माथि मजदूरहरुको बस्तीमा पुगेँ ।

विद्यार्थी सम्मेलनका निम्ति म त्यसरी मजदूर बस्तीमा पुग्नुको कारण थियो– मेरो मजदूर पृष्ठभूमि । ३६ सालको आन्दोलनमा म मजदुरकै आवरणमा बालाजू औद्योगिक क्षेत्रमा संगठक भएर पसेकी थिएँ । २०३७ मा मजदुर आन्दोलनमाथि भएको दमनपछि धेरै समय बितेको थिएन । गम्भीर सुरक्षा चुनौति पछि म भूमिगत हुनुपरेको थियो । यतिबेला पनि अर्ध भूमिगत रुपमा आफ्ना जिम्मेवारी पुरा गर्दैथिएँ । तर मजदूर मित्रहरुसँगको मेरो भावनात्मक सम्बन्ध गहिरो थियो र उनिहरुसँग प्रत्यक्ष सम्बन्ध कायमै थियो ।

अप्ठेरो पर्दा म मजदूर मित्रहरुलाई नै सम्झन्थें । ३६ सालमै पनि मेरी सहयोद्धा अष्टलक्ष्मीले घर छोड्ने बेला गाउँ जानु अघि तिनै मजदूर साथीहरुको सहयोगमा कहिले त्यही औध्योगिक क्षेत्र नजिक रानीवनमा त कहिले मनमयजुमा वा कुनै महिला मजदूरको घरमा लुकाएर राख्न मजदूर साथीहरुले ठूलो टेवा दिएका थिए ।

यिनै कुरा सम्झेर यो नयाँ सङ्कट टाल्न पनि बालाजुका तिनै मजदूर साथीहरुको सहयोग खोज्न हिडेका थियौँ । मनमयजुमा पुग्यौं । एउटा ठाउँको बन्दोबस्त पनि भयो । एकजना पुराना वामपन्थी कार्यकर्ता आफ्नो घर आँगन एकदिनको निम्ति दिन तयार हुनुभयो । ‘लौ मिल्यो’ भनेर खुसी हुन नपाउँदै उहाँको मन फेरियो । फेरि त्यो ठाउँ छोडेर धर्मस्थली पुग्यौं ।

छाता पनि बोकेको थिएन । टन्टलापुर घाममा छाता पनि नबोकी हिँड्न दुईजीउ भएकी मलाई निकै गाह्रो भइरहेको थियो । तर जिम्मेवारी छोड्नु भएन । भर्खरै मात्र मजदूर कमिटीमा सम्मिलित भएका दुई दाजुभाइ रामबहादूर र श्यामबहादूर बलामीसँग कुरा भएपछि उहाँहरुले सहयोग गर्ने वचन दिनु भयो । लाम्चो नयाँ घरको दुईतल्ला मिलाएर आवश्यक ठाउँ पुर्याउने योजना भयो ।

उहाँहरुको वचन पाएपछि जीतको अनुभूति भयो । मनमनै मार्टिन लुथर किङ्गको गीत ‘हामी जित्नेछौं एकदिन’ गाएँ । अब कसरी त्यो ठूलो कार्यक्रम संगठित गर्ने भनी सुरक्षा लगायतका उपायबारे समेत उहाँहरुसँगै कुरा गरेर त्यहाँबाट हामी विदा भई फर्कदा टाउकोबाट पहाड नै पन्छेसरी हलुङगो अनुभव भयो ।

काठमाडौंतिर फर्किरहँदा पाँच बजिसकेको थियो । डेरामा जाउँ कि माइति जाउँ भयो । बेसरी थाकेको जीउ, धूलो र घामले पोलेलो मेरो अनुहार कस्तो थियो होला ? पेटमा बच्चा भएको छाँटकाँट नमिलेको शरीर, थकाई, खाना नरुचेको बेला त्यस्तै दुब्ली पातली गति न पतिकी थिएँ हुँला । त्यस्तो बेला आमालाई सम्झें र आमाकहाँ नै पहिले पुग्छु भनी माइती गएँ सरासर ।

चोकमा पुग्दा म झस्केँ । त्यो दिन त घोडाजात्राको अघिल्लो दिन पाहाँचह्रे चतुरदर्शी परेछ । काठमाडौंका नेवारहरुको निम्ति ठूलो चाडको दिन । चोक चोकमा जमिन खनेर ‘लुकेको महादेव’लाई पुजाआजागरी भोज ख्वाएर घर घरमा परिवारसहित भोज खाने दिन ।

चोकमा जमिन खनिराखेको र बच्चाहरु वरिपरी देखे पछि ‘लौ आज त पाहाँचह्रे परेछ !’ भन्ने कुराले झस्कायो । नेवारहरुको चलनअनुसार चाडको बेलामा आफ्नै घरमा चाड मान्ने र भोलिपल्ट ‘नखत्या’ खान माइतीमा जाने हुन्छ ।

बिहे गरेको पहिलो वर्ष मेरो निम्ति घर न घाटको अवस्था नै थियो । डेरामा एक्लै बस्थें, सरोज भूमिगत कार्यकर्ता भएर म भन्दा धैरै टाढा गाउँमा पुगेका थिए । म जन्मेको घर पनि ‘माइती’ भइसकेको थियो । श्रीमानको घरसँग कुनै सम्बन्धको पूल नै बनिसकेको थिएन, काठमाडौंमै भए पनि ।

मलाई देखेर आमा छक्क पर्नु भयो । चाडबाडको बेला आमाकहाँ पनि भोजको परिकार पाकिसकेको रहेछ । आमाको आँखा भरी प्रश्न थियो– तर मायाले नै भन्नु भयो– ‘के गति न पत्ति गरी आएको नि ! कहाँ पुगेर आइस् …? जवाफ केही दिन सकिन । दिन मिल्ने खालको जवाफ पनि थिएन मसँग । भोकै देखेर होला हत्त न पत्त भोजको खानेकुरा थाल भरी राखेर दिनु भयो । पकापक खानुको सट्टा दुबै आँखाबाट बर..र आँसु झरेर थालमा पोखियो !

अहिले फर्केर हेर्दा पोखिएको त्यो आँसु त एकटुक्रा इतिहास रहेछ । अचेल धेरैले खासै मतलब नराख्ने इतिहासको त्यो सानो टुक्रामा क्रान्तिका सुन्दर सपना, त्योबेलाको हृदयको पवित्रता, महिला क्रान्तिकारीका अनेक आयाम लुकेका छन् । ती सबै बाहिर निस्कँदा सत्तास्वादमा हराएका नेतालाई कति असहज लाग्छ कुन्नि ? उबेला सपना देख्नेहरुका मनमा भने असंख्य प्रश्न उब्जिन्छन् ।

प्रतिक्रिया दिनुहोस्