Logo
Logo

कञ्चनपुरमा लागुऔषध कारोबार नियन्त्रणमा चुनौती


504
Shares

महेन्द्रनगर । कञ्चनपुरमा पछिल्लो समय लागुऔषधका दुव्र्यसनी बढ्दै गएका छन् । प्रहरीको तथ्याङ्क हेर्दा यो लतमा स्कुले विद्यार्थी पनि लिप्त रहेको पाइएको हो ।

विगत तीन वर्षयता यहाँ लागुऔषध सेवन गर्नेको संख्यामा वृद्धि भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्र शाहले १७ देखि ३० वर्ष उमेर समूहका बालबालिका तथा युवा लागुऔषध दुव्र्यसनमा रहेका जानकारी दिए । “पटक-पटक लागुऔषधमै फेला पर्न थालेपछि धेरैलाई त मुद्दा चलाएर कारबाही गरिरहेका छौँ ।” उनले भने, “लागुऔषध दुव्र्यसनबाट छोराछोरी बचाउन अभिभावकको पनि मुख्य भूमिका रहन्छ ।” प्रहरीले भारतसित खुला सीमा नाका भएका कारण यहाँ ब्राउनसुगरलगायतका लागुऔषधको कारोबार नियन्त्रणमा चुनौती रहेको बताउँदै आएको छ ।

“भारतबाट लुकिछिपी ल्याउने र यहाँ कारोबार गर्ने धेरै कारबाहीको दायरामा छन् ।” प्रवक्ता शाहले भने, “ यो कारोबारमा संलग्न भारतीयलाई पनि जेल चलान गरिएका घटना छन् ।” यहाँ लागुऔषध नियन्त्रणका लागि विभिन्न सचेतनामूलक कार्यक्रम प्रहरीले सञ्चालन गरिरहेको छ । प्रहरीका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा ८७ जना लागुऔषध सेवनकर्ता पक्राउ परेका थिए । यसमा सात जना भारतीय नागरिक हुन् । सो अवधिमा प्रहरीले २१ किलो २५ ग्राम चरेश, नाइट्राभेट ३७५ ट्याब्लेट, हेरोइन २६९ ग्राम बरामद गरेको थियो । त्यस्तै प्रहरीको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७७/०७८ मा लागुऔषध असोपारपसार तथा सेवन गरेको आरोपमा पक्राउ पर्नेको संख्या बढेर २३० जना पुगेका थिए ।

साथै, लागुऔषधको विभिन्न अभियोगमा १४१ वटा मुद्दा चलाइएको थियो । चालु आर्थिक वर्षको आठ महिनामा लागुऔषध कारोबार तथा सेवनमा संलग्न ९९ जना विरुद्ध मुद्दा दर्ता भएको छ । सो कारोबारमा संलग्न १६५ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सो अवधिमा लागुऔषध नाइट्राभेट १२७४, स्पाम २७६, रेक्सोजेसिक १६४ ग्राम, खैरोहेरोइन २६५.२३ ग्राम, चरेस ३२ ग्राम बरामद भएको प्रहरीले जनाएको छ । लागुऔषध सेवन गरेको अवस्थामा अधिकांशले आपराधिक क्रियाकलाप गर्ने गरेका पाइएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्