
विराटनगर । दोस्रो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधि सिरहा गोलबजारको प्रतिभा फुटबल क्लबले जितेको छ ।
विराटनगरस्थित जुट मिलको खेलमैदानमा हिजो सम्पन्न फाइनलमा साइनो स्पोर्ट्स क्लब रानी विराटनगरलाई २–१. गोलले हराउँदै गोलबजारले मिल्स गोल्डकपको उपाधि जितेको हो । जितसँगै गोलबजारले नगद २ लाख १ हजार रुपैयाँसहित ट्रफि प्राप्त गरेको छ । उपविजेता बनेको साइनोले नगद १ लाख १ हजार रुपैयाँमा चित्त बुझायो । खेल सुरू भएको ८ औँ मिनेटमा गोलबजारका विदेशी खेलाडी अलीले गोल गरी टीमलाई अग्रता दिलाए । उनले मध्यभागबाट गरेको प्रहार गोलमा परिणत भयो । पहिलो गोल भएपछि दबाबमा परेको साइनोका विदेशी खेलाडी फुफनाले १४ औँ मिनेटमा गरेको प्रहार गोलबजारका किपर निश्चल श्रेष्ठले उत्कृष्ट बचाउ गरे ।
खेलको ३५ औँ मिनेटमा गोलबजारका कुलदेव कार्कीले प्रहार गरेको फ्रि किक साइनोका गोलकिपर एञ्जल श्रेष्ठले बचाए । साइनोका फुफनाले ३९ औँ मिनेटमा करिब ३० यार्डबाट गरेको प्रहारले जाली चुम्यो र, खेल बराबरी भयो । दोस्रो हाफदेखि आक्रामक खेल पस्किएको गोलबजारले ४७ औा मिनेटमा विदेशी विनु अलीले निकालिदिएको क्रस पासलाई विदेशी खेलाडी यामुले गोल गरी टीमको जित सुनिश्चित गरे । ५१ औँ मिनेटमा भुवन बस्नेतले डिबक्स भित्रबाट गरेको कडा प्रहार गोलबजारका किपर निश्चल मुक्ताङ्गले उत्कृष्ट बचाए । घरेलु दर्शकको साथ पाएको साविकको उपविजेता साइनोले थुपै गोल गर्ने अवसर खेर फाल्यो । ६३ औँ मिनेटमा साइनोका फुफानोले निकालिदिएको पास भुवन बस्नेतले डिबक्स भित्रबाट गरेको हेड बाहिरियो ।
दुई गोलको दबाबमा देखिएको साइनोले ६७ र ७० औँ मिनेटमा गोल गर्ने अवसर गुमायो । बक्सभित्र निशान लिम्बूको वान भर्सेस वानको प्रहार फितलो रहँदा गोल गर्ने अवसर गुम्यो । फाइनल खेलको ‘प्लेयर अफ म्याच’ उपविजेताका फोपोनो भए । त्यसैगरी उत्कृष्ट खेलाडी गोलबजारका कुलदीप कार्की, हाई स्कोरर गोलबजारका अलमान भए । उनले प्रतियोगितामा तीन गोल गरेका थिए । मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा भएको प्रतियोगितामा आठ टीमको सहभागिता रहेको थियो । विजता हुने खेलाडीहरूलाई कार्यक्रमका प्रमुख अतिथि विराटनगर महानगरपालिका प्रमुख भीम पराजुली, ट्रष्टका अध्यक्ष किशोर शाही, संयोजक किशोर सुब्बालगायतले पुरस्कार वितरण गरेका थिए ।
यसैबीच, विराटनगरको रानीमा रहेर खेलाडीहरूको जुत्ता सिलाउँदै आएका चन्देश्वर रामलाई सम्मान गरिएको छ । उनलाई नगद २५ हजार रुपैयाँसहित सम्मान गरिएको हो । सम्मानित भएका सुनवारले सिलाएको जुत्ता लगाएका थुप्रै राष्ट्रिय खेलाडी भएका छन् । सम्मानित भएका रामलाई विराटनगर महानगरपालिका प्रमुख पराजुलीले कदर पत्रले सम्मान गरेका थिए ।











