
विराटनगर । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले संघीयता सफल बनाउन सबै तहका सरकार मिलेर अघि बढ्नुपर्ने बताएकी छन् ।
उनले संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहको कार्य क्षेत्रबारे विवाद आवश्यक नरहेको बताउँदै संघीयता सफल बनाउन सबै तहका सरकार मिलेर अघि बढ्नुपर्ने बताएकी हुन् । शहरी विकास मन्त्रालयद्वारा प्रदेश नम्बर १ को विराटनगरमा हिजो आयोजित राष्ट्रिय शहरी नीति तथा शहरी विकास ऐन तर्जुमा सम्बन्धी प्रदेशस्तरीय छलफल तथा अन्तरक्रिया कार्यक्रममा मन्त्री झाँक्रीले संघीयताको मर्मअनुसार सबै मिलेर अघि बढ्नुपर्ने धारणा राखिन् । उनले भनिन्, ‘अब हामीले तीनै तहका सरकारका कार्य क्षेत्रबारे विवाद गरेर बस्नु हुँदैन । सँगै मिलेर अघि बढ्नुपर्छ ।’ मन्त्री झाँक्रीले अब केन्द्रले बजेट तथा कार्यक्रम बनाउन नहुने बताउँदै अब योजना छनोट वडा तहबाट हुनुपर्ने बताइन् ।
मन्त्रालयले संघीयता अनुसारको शहरी नीति परिमार्जन र शहरी विकास ऐन बनाउने बताउँदै यसमा सबैको अपनत्व हुने बताइन् । प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राईले संघीयताको मर्मअनुसार विकास र बजेट विकेन्द्रीकृत हुनुपर्ने बताए । ठूला शहरमा मात्र विकास र लगानी केन्द्रीत हुँदा बसाईंसराईको क्रम बढेको बताउँदै उनले सबै क्षेत्रमा विकास पुग्नेगरी नीति परिमार्जन गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘विकास निर्माणका काम ठूला शहरमा मात्र केन्द्रीत हुँदा बसाईंसराई बढेको छ । अब विकास र बजेट अविकसित ठाउँमा पुर्याउनुपर्छ । यी विषयहरुमा शहरी नीति परिमार्जन र शहरी विकास ऐन बन्नुपर्छ ।’ शहरी विकास मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंहले संघीयतापछि शहरी नीति परिमार्जनको टड्कारो आवश्यकता देखिएको बताए ।
विभिन्न सुख सविधा खोज्दै शहरमा बसाईं सर्ने दर बढिरहेको बताउँदै उनले परिमार्जित शहरी नीति र शहरी विकास ऐनले यसलाई समेट्ने बताए । सचिव डा. सिंहले शहरी विकास नीति परिमार्जन र शहरी विकास ऐन नहुँदा तीनै तहका सरकारबीचको समन्वयमा समस्या सिर्जना भएकोे बताए । उनले भने, ‘शहरी नीति परिमार्जन नहुँदा तीनै तहका सरकारबीच समन्वयमा समस्या भयो । प्राकृतिक स्रोत साधन बाँडफाँटमासमेत अन्यौलता छ ।’ शहरी विकास भवन निर्माण विभागका उपमहानिर्देशक दिलिप भण्डारीले मन्त्रालयले सातै प्रदेशमा सबैको रायसहित शहरी नीति परिमार्जन गरिने बताए । उनले परिमार्जित शहरी नीति र शहरी विकास ऐनमा सबैको अपनत्व हुने बताए ।
मन्त्रालयका सिनियर डिभिजनल इञ्जिनियर रोशन श्रेष्ठले शहरी विकास नीति परिमार्जनबाट स्पष्ट मार्ग निर्देशन गर्ने बताए । शहरी विकास ऐनको मस्यौदा अन्तिम चरणमा पुगेको बताउँदै उनले युटिलिटी कोरिडोर निर्माणले शहर व्यवस्थित बनाउन महत्वपूर्ण हुने बताए । अर्जुनधारा नगपालिकाका प्रमुख हरि रानाले शहरी नीति परिमार्जन तथा शहरी विकास ऐनले हाल देखिएका समस्या समाधान हुने बताए ।












