
काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज रेलको संयुक्त रुपमा उद्घाटन गर्दैछन् ।
दुवै प्रधानमन्त्रीले जनकपुर–जयनगर खण्डमा चल्ने नेपाली रेल सेवाको आज दिउँसो नयाँदिल्लीस्थित हैदराबाद हाउसबाट हरियो झण्डा देखाएर उद्घाटन गर्न लागेका हुन् । उद्घाटनपछि भोलिबाट नै नियमित रुपमा जयनगरबाट दैनिक दुई पटकसम्म रेल गुडाउने गरी तयारी भएको नेपाल रेलवे कम्पनीले जनाएको छ । दुवै रेल एकैपटक गुडाउँदा बिग्रिन सक्ने भएकाले मर्मत गर्दै आलो–पालो प्रणालीबाट चलाउने तयारी गरिएको कम्पनीले जनाएको छ ।
सो कम्पनीका अनुसार एउटा रेलमा एकपटकमा १ हजार ३५० जना यात्रुले यात्रा गर्न सक्ने र रेलको सिटमा बसेर र उभिएर यात्रा गर्ने व्यवस्था पनि मिलाइएको छ । जनकपुर–जयनगर ७० र कुर्था–जयनगर ९० रुपैयाँ भाडा निर्धारण गरिएको एसी सिटका लागि भने जनकपुर–जयनगर ३५० र कुर्था–जयनगर ४५० रुपैयाँ भाडा तोकिएको कम्पनीले जनाएको छ ।












