Logo
Logo

प्रथम झापा जिल्लास्तरीय सहकारी सम्मेलन सुरु


630
Shares

बिर्तामोड । झापामा पहिलोपटक आयोजना गरिएको जिल्लास्तरीय सहकारी सम्मेलन आजबाट बिर्तामोडमा सुरु भएको छ ।

झापा जिल्ला सहकारी संघ लिमिटेडले ६५ औँ राष्ट्रिय सहकारी दिवसको अवसर पारेर सम्मेलन आयोजना गरेको हो ।सम्मेलनको एक भव्य कार्यक्रमका बीच प्रदेश नं. १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले उद्घाटन गरेका छन् । संघका वरिष्ठ उपाध्यक्ष महेन्द्रकुमार गिरीले स्वागत गरेको सो कार्यक्रममा प्रमुख अतिथि आङ्बो, नेकपा एमाले झापाका सचिव शिव ढुंगेल, नेकपा माओवादी केन्द्र झापाका संयोजक राजु आचार्यलगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण संघका सचिव भवानीप्रसाद दंगाल र सहसचिव कृष्णप्रसाद मिश्रले गरेका थिए ।

सम्मेलनको पहिलो दिन संघका वरिष्ठ उपाध्यक्ष गिरीले झापामा सहकारीको सम्भावना र चुनौती विषयमा कार्यपत्र प्रस्तुत गर्दै छन् । त्यस्तै, अष्ट्रेलियाका लागि पूर्वराजदूत महेशराज दाहालको उत्प्रेरणात्मक प्रस्तुति रहनेछ । पहिलो दिनको अन्तिम कार्यपत्र नेफ्स्कुनका पूर्वकोषाध्यक्ष केशव पोखरेलले प्रस्तुत गर्नेछन् । उनको कार्यपत्रमाथि राष्ट्रिय सहकारी बैंकका लेखा सुपरीवेक्षण समिति संयोजक लक्ष्मीप्रसाद उप्रेतीले टिप्पणी गर्नेछन् ।

सम्मानित र पुरस्कृतको नाम सार्वजनिक
सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्नुअघि संघले यस वर्ष सम्मान तथा पुरस्कृत गर्ने संस्था र व्यक्तिको नाम सार्वजनिक गरेको छ ।

संघका अध्यक्ष गणेश ढकालले यस वर्ष संघले सम्मान गर्नेहरुको नाम घोषणा गरेका हुन् । यस वर्ष झापा सहकारी सम्मान पुरस्कार दीपकप्रकाश बाँस्कोटालाई प्रदान गरिने भएको छ । पुरस्कारको राशि नगद २५ हजार ५५५ रुपैयाँ रहेको छ । त्यस्तै, पूर्वसञ्चालक सम्मान हरिकिशोर आचार्य र उत्कृष्ट सञ्चारकर्मीको रुपमा लक्ष्मण ढकाललाई पुरस्कृत गरिने भएको छ । दुवै पुरस्कारको राशि नगद १० हजार ५५५ रुपैयाँ रहेको छ ।

त्यस्तै, उत्कृष्ट बहुउद्देश्यीय सहकारीका रुपमा गणेश बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, उत्कृष्ट बचत तथा ऋण सहकारीका रुपमा सिम्रिक साकोस, उत्कृष्ट कृषि सहकारीमा लगनशील कृषि सहकारी संस्था रहेका छन् । उत्कृष्ट बचत कारोबारमा नेपाल बहुउद्देश्यीय र उत्कृष्ट कर्जा कारोबारमा फाल्गुनन्द साकोस रहेका छन् । उनीहरु सबैलाई पुरस्कारस्वरुप नगद १० हजार ५५५ रुपैयाँ प्रदान गरिने अध्यक्ष ढकालले बताए ।

यसैबीच, उत्कृष्ट व्यवस्थापक महिलामा हिमाञ्चल साकोसकी अरुणा राई र पुरुषमा विराट बहुउद्देश्यीयका रुद्र सिटौला रहेका छन् । उनीहरुलाई नगद ५ हजार ५५५ रुपैयाँसहित पुरस्कृत गरिनेछ । पुरस्कृत संस्था तथा व्यक्तिहरुलाई संघको आगामी साधारणसभामा सम्मान तथा पुरस्कार प्रदान गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्