Logo
Logo

घोराहीमा जैविक ग्यास उत्पादन प्लान्टको उद्घाटन


567
Shares

देउखुरी । घरायसी प्रयोजनका लागि चार, छ घनमिटर क्षमताका बायोग्यास प्लान्टमा विश्वमा उदाहरण बन्दै आएकामा अब ठूला क्षमताका बायोग्यास प्लान्ट जडान गरी खाना पकाउने ग्यास, विद्युत् र जैविक मल उत्पादनमा पनि नेपालले सफलता पाउन थालेको छ ।

जैविक (गल्ने) फोहोरबाट व्यावसायिक प्रयोजनमा ल्याउने गरी ठूला क्षमताका बायोग्यास प्लान्टले विदेशबाट आयोजित एलपी ग्यास र रासायनिक मलको निर्भरतालाई कम गर्न सकिने भएको छ ।

घोराही उपमहानगरपालिका, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र बानेश्वर काठमाडौंको सहयोग र नेपाल ऊर्जा विकास कम्पनी प्रालि काठमाडौँको प्रवर्द्धनमा घोराही उपमहानगरपालिका–१६ करौतीडाँडामा स्थापना गरिएको बायोग्यास प्लान्टले यो सम्भावनालाई उजागर गरेको छ ।

करिब रु २४ करोडभन्दा बढीको लागतमा निर्माण भएको सो ग्यास प्लान्टबाट ग्यास उत्पादन थालिएको हो ।

सो प्लान्टको शनिबार उद्घाटन गर्दै नगरप्रमुख नरुलाल चौधरीले फोहोरलाई मोहरमा बदल्ने योजना सफल भएको बताए । जनप्रतिनिधिका रुपमा निर्वाचित हुनुभन्दा पहिले थालिएको सोचलाई आफूहरुले पनि प्राथमिकताका साथ लिएको र अहिले सफल भएको उनको भनाइ छ ।

गल्ने फोहोरबाट ग्यास र मल उत्पादन गर्ने योजनालाई आफ्नै कार्यकालमा सफल भएको भन्दै उनले गल्ने र नगल्ने फोहोरको छुट्टाछुट्टै व्यवस्थापन गरेर राखिदिन नगरवासीलाई आग्रह पनि गरे ।

नगरवासीसँग फोहोर किनेर ग्यास बनाएर नगरवासीलाई बिक्री गर्ने कार्यक्रम रहेको उहाँले बताए । नगरले गल्ने र नगल्ने फोहोरलाई पुनः प्रयोगमा ल्याएर फोहोर फालिँदै आएको ल्यान्डफिल साइटमा शून्य फोहोरमा झार्ने सोच रहेको बताए ।

गल्ने फोहोरबाट ग्यास उत्पादन भइसकेको अवस्थामा अब नगल्ने फोहोरलाई पनि नागरिकहरुबाट खरिद गरेर बिक्री गर्ने गरी निजी क्षेत्रसँग समझदारीको तयारी भइरहेको जानकारी दिए ।

सरकारी र गैरसरकारी संस्थाहरु बीचको सहकार्यबाट योजना सफल भएकाले यसअघि गाड्दै र फालिँदै आएको फोहोरलाई सदुपयोग गर्न ग्यास प्लान्टले सार्थकता दिने उनले बताए । सरसफाइ अभियानले फोहोर चुनौती हैन, अवसर हो भन्ने काम यो प्लान्टले देखाएको उनले बताए । अब किसानले व्यावसायिक पशुपालनमा जोड दिनुपर्ने र गोबरसमेत खरिद बिक्री हुने बताए।

प्रतिक्रिया दिनुहोस्