Logo
Logo

जेबिल्स एनआईबिएलमा गाभियो


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ६ असार । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले जेबिल्स फाइनान्स लिमिटेडलाई प्राप्तीका लागि विशेष साधारण सभा आयोजना गरी प्रस्ताव पारित गरेको छ । शुक्रबार आयोजित विशेष साधारण सभामार्फत प्रस्ताव पारित गरेको हो ।
हाल नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्त पूँजी रु १२ दशमलव ५९ अर्ब र जेबिल्स फाइनान्स लिमिटेडको चुक्ता पूँजी रु ० दशमलव ८४ अर्ब भएकामा जेबिल्स फाइनान्स लिमिटेडको रु १०० एक शेयर बराबर रु ३३ प्रदान गर्ने प्रस्ताव पारित भए मुताविक जेबिल्स फाइनान्स एनआईबिएलको चुक्ता पूँजी रु १२ दशमलव ८७ अर्ब पुग्ने कुरा साधारण सभामा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले बताए ।
जेबिल्स फाइनान्स लिमिटेडको प्राप्तीपछि बैंकको कुल निक्षेप १ सय ४७ अर्ब रुपैयाँ पुग्ने छ भने कूल कर्जा १ सय ३२ अर्ब रहने छ । जेबिल्स फाइनान्सको प्राप्तीपछि पनि बैंकमा संस्थापक पक्षको स्वामित्व ६९ प्रतिशत र सर्वसाधारणको ३१ प्रतिशत नै रहने बैंकको साधारण सभामा जानकारी गराइएको छ ।
जेबिल्स फाइनान्स लिमिटेडको प्राप्तीपछि पनि एनआईबिएलको हालकै सञ्चालक समिति तथा प्रमुख कार्यकारी अधिकृत कायम रहने छ । साधारण सभामा शेयरधनीले बैंकको सफलताको कामना गरेका थिए ।
हाल बैंकले काठमाडौं उपत्यकाभित्र २३ तथा उपत्यकाबाहिर ५७ वटा शाखा सञ्चालनमा ल्याएको छ । सात वटै प्रदेशका विभिन्न स्थानमा खोलिएका शाखा, एक सय १२ वटा एटिएम तथा १४ वटा एक्सटेन्सन काउन्टर, १० वटा राजश्व संकलन केन्द्र, ४९ वटा शाखारहित बैंकिङ सेवामार्फत बैंकले आफ्ना ग्राहकलाई सेवा दिँदै आएको छ ।
‘बैंक अफ द इयर’ पाँच पटक प्राप्त गरिसकेको एनआईबिएलले उत्कृष्ट सेवा तथा व्यवसायीमा गरेको अब्बल प्रदर्शनका कारण ‘इकोनोमी’ नामक अन्तर्राष्ट्रिय पत्रिकाबाट गत वर्ष ‘इकोनोमी अवार्ड फर एक्सलेन्स : बेस्ट बैंक–२०१८’ प्राप्त गरेको थियो भने इक्रा नेपालद्वारा प्रदान गरिँदै आएको क्रेडिट रेटिङमा बैंकले ए प्लस स्तर हासिल गरेको हो ।

प्रतिक्रिया दिनुहोस्