Logo
Logo

योगले मानिसलाई रोगबाट बचाउँछ : उपराष्ट्रपति


- दृष्टि न्युज/संवाददाता


पाँचौं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पतञ्जली योग समिति चितवनद्धारा शुक्रबार भरतपुरमा आयोजना गरिएको योग शिविरमा योग गदै उपराष्ट्रपति नन्दवहादुर पुन ।

चितवन, ६ असार । उपराष्ट्रपति नन्दबहादुर पुनले स्वस्थ शरीर र मानसिक सुख वा आत्मिक शान्तिका लागि योग अचुक माध्यम बनिरहेको बताएका छन् । पाँचौँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पतञ्जली योग समिति चितवनद्वारा शुक्रबार यहाँ आयोजित योग शिविरको उद्घाटन गर्दै उनले योगले मानिसलाई रोग लाग्नबाट बचाएर स्वस्थ बनाइरहने बताए ।
योगले आत्मिक शान्ति दिएर सुखी पनि बनाइरहेको भन्दै उनले आज विश्वभरका मानिसहरु कुनै न कुनै रोगसँग जुधिरहेको बताए । हरेक मानिस रोग लाग्नबाट कसरी बच्ने भनेर विभिन्न विकल्पको खोजीमा रहेको उनको भनाइ थियो । अहिले विश्वमा मानिसले ठूला–ठूला भौतिक सुखसयल प्राप्त गरेका भए पनि ती मानिसहरु आत्मिक शान्ति, मानसिक सुखको खोजीमा रहेको उनले बताए ।
योग कहाँबाट उत्पत्ति भयो भन्ने र यसको परिभाषाबारे यससँग सम्बन्धित विज्ञहरुले भिन्नभिन्न कोणबाट तर्क गरेको भन्दै उनले भने, ‘विद्वानहरुले योगको शुरुआत शिव र पार्वतीको संवादबाट भएको र शिव पार्वतीको बास नेपालकै हिमालय क्षेत्रमा भएको तर्क गर्दै आएका छन् ।’ उनले वैदिककालमा हिमालयको काखमा ऋषिमुनिले अध्ययन अनुसन्धान गरी प्रतिपादन गरेको योग, ध्यान र आयुर्वेदका माध्यमबाट प्राचीनकालमा मानिसले मानसिक शान्ति एवं स्थिरता र आरोग्यता प्राप्ति गर्ने गरिने बताए ।
योगको परिभाषा जे भए पनि यो एउटा विज्ञानको रुपमा स्थापित भएको भन्दै उनले केही दिनअघिमात्रै एकविज्ञले आयुर्वेद, योगशास्त्रका पिता तथा संस्कृतिविद् पतञ्जलीको जन्म नेपालको अर्घाखाँची जिल्लामा भएको प्रमाणसहित दावी गरेको जानकारी दिए ।
उपराष्ट्रपति पुनले आज संसारका १७५ राष्ट्रले स्वीकार गरेको योग नेपालबाटै फैलिएको बताए । योग कर्मयोग, ज्ञानयोग, ध्यानयोग अनेक रूपमा हिन्दू, बौद्ध र जैन संस्कृतिमा व्यवहारिक प्रयोग भइरहेको उनको भनाइ थियो ।
नेपालबाट फैलिएर अन्तर्राष्ट्रिय जगतले स्वीकार गरेको र संयुक्त राष्ट्रसंघको ६९औँ महासभाले जुन २१ लाई विश्व योग दिवसको रुपमा मनाउने निर्णय गरेको अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा विश्वभरका योग अनुरागीहरुमा उनले शुभकामना पनि व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्