Logo
Logo

जनप्रतिनिधिको सवारी बजेटले दमकल


- दृष्टि न्युज/संवाददाता


काभ्रेपलाञ्चोक, ६ असार । पाँचखाल नगरपालिकामा चालू आर्थिक वर्षमा जनप्रतिनिधिलाई सवारीसाधन खरीदका लागि छुट्याइएको बजेटबाट दमकल खरीद गरिएको छ । गत वर्ष पुसमा सम्पन्न नपा कार्यापालिका बैठकले उक्त निर्णय गरेको थियो ।
कार्यालयको गाडी तथा वडाध्यक्षलाई मोटरसाइकलका खरीदका लागि छुट्याइएको बजेटले दमकल खरीद गरिएको नपाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर भण्डारीले जानकारी दिए । उनका अनुसार चालू आर्थिक वर्षमा सवारी खरीदका लागि विनियोजित रु ७५ लाख रकममध्ये बोलपत्रमार्फत रु ५० लाख ५० हजारमा दमकल खरीद गरिएको हो ।
नगरप्रमुख महेश खरेलले कार्यपालिकाले चालू आवमा गाडी तथा मोटरसाइकलको बजेटले दमकल खरीद गर्ने निर्णय गरेको बताए । उनले भने, ‘हामीले नगरको आवश्यकतालाई पहिलो प्राथमिकता दियौँ ।’ नगरको चालू आर्थिक वर्षमा रु २१ लाख ७५ हजार वडाध्यक्षलाई मोटरसाइकल खरीद गर्न छुट्याइएको थियो ।
कार्यपालिकाले नगरको आवश्यकतालाई प्राथमिकता दिएर मोटरसाइकलको बजेट दमकल खरीद गर्ने निर्णयप्रति सबै वडाध्यक्ष सहमत भएको वडा नं ७ का वडाध्यक्ष पुष्कर ढकालले बताए । उनले भने, ‘यसअघि पाँचखाल क्षेत्रमा आगलागी हुँदा निकै समस्या झेल्दै आइएको थियो ।’ अघिल्लो आवमा नगरप्रमुखलाई गाडी खरीद गर्न छुट्याइएको रु ४५ लाख पनि तीन वडाका बासिन्दाका लागि खानेपानी व्यवस्थापनमा खर्चिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्